७ बैशाख २०८१, शुक्रबार

शतप्रतिशत नतिजासहित लिभरपुल र आयाक्स च्याम्पियन्स लीगको अन्तिम १६ मा प्रवेश

Liverpool
फाइल फोटो

लिभरपुल र आयाक्स शतप्रतिशत नतिजासहित च्याम्पियन्स लीग फूटबलको अन्तिम १६ मा प्रवेश गरेका छन् ।

समूह बी अन्तर्गत गएराति समूह चरणको अन्तिम खेलमा एसी मिलानलाई २–१ ले हराउँदै लिभरपुल नकआउट चरणमा पुगेको हो । अवे मैदानमा लिभरपुलको जितमा मोहमेद सलाह र डिभोग ओरिगीले एक(एक गोल गरेका थिए । मिलानका लागि फिकायो टोमोरीले एक गोल फर्काए ।

शीर्ष स्थानमा रहँदै नकआउट चरण पुगेको लिभरपुलले ६ खेलबाट १८ अंक जोड्यो ।

यस्तै लिभरपुल च्याम्पियन्स लीगको समूह चरणमा सबै ६ खेल जित्ने पहिलो इंग्लिस टोली समेत बन्यो । यही समूहमा एट्लेटिको मड्रिडले एफसी पोर्टोलाई ३–१ ले पराजित गर्‍यो । दोस्रो स्थानको एट्लेटिकोले समान खेलबाट ७ अंक जोड्यो ।

समूह सी बाट आयाक्स र स्पोर्टिङ लिस्बन नकआउट चरणमा पुगे । समूह चरणको अन्तिम खेलमा आयाक्सले स्पोर्टिङ लिस्बनलाई ४–२ ले हरायो ।

समूह चरण अपराजित आयाक्सले १८ अंक जोड्दा स्पोर्टिङ लिस्बनले ९ अंक जोड्यो । यस समूहबाट बोरुसिया डर्टमण्डले ९ अंक जोडेपनि गोल अन्तरका पछि पर्दै अर्को चरणमा पुग्न सकेन ।

उता समूह डी मा इन्टर मिलानलाई २–० ले हराएर शीर्ष स्थानमा रहँदै रियल मड्रिडले पनि अन्तिम १६ मा स्थान पक्का पारेको छ । घरेलु मैदानमा रियलका लागि १७औं मिनेटमा टोनी क्रुस र ७९ औं मिनेटमा मार्को एसेन्सिओले गोल गरेका थिए ।

६४ औं मिनेटमा निकोलो बारिला रातो कार्ड पाएपछि इन्टर १० खेलाडीमा सीमित भएको थियो । शीर्ष स्थानको रियलले ६ खेलबाट १५ तथा दोस्रो स्थानको इन्टरले १० अंक जोडे । यही समूहको अर्को खेलमा शाख्टर डोनेस्क र शरिफ टिरास्पोलले १–१ को बराबरी खेले ।

समूह ए बाट भने म्यानचेष्टर सिटी शीर्ष र पिएसजी दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुगे । तर सिटी भने समूह चरणको अन्तिम खेलमा आरबी लाइप्जिगसँग २–१ ले स्तब्ध हुन पुग्यो । त्यस्तै पिएसजीले क्लब ब्रुगेसमाथि ४१ को शानदार जित निकाल्यो । सिटीले ६ खेलबाट १२ र पिएसजीले ११ अंक जोडे ।