१३ बैशाख २०८१, बिहीबार

गुरुराज घिमिरेले भने–प्रधानमन्त्री देउवाले ममाथि दोस्रोपटक राजनीतिक हिंसा गरे

guru rag ghimire

नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले आफूमाथि दोस्रो पटक राजनीतिक हिंसा गरेको टिप्पणी गर्नु भएको छ ।

मंगलबार चाक्सीबारीमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै नेता घिमिरेले नेपाली कांग्रेस प्रदेश १ को निर्वाचनमा प्रधानमन्त्री तथा पार्टी सभापति देउवाले सत्ताको चरम दुरुपयोग गरी आफूलाई हराएर दोस्रो पटक राजनीतिक हिंसा गरेको बताउनुभएको हो ।

गत संसदीय निर्वाचनमा आफू जनमत, योगदान र पहिचानले पहिलो नम्बरमा पर्न सफल भएपनि टिकट नदिएर सभापति देउवाले पहिलो पटक राजनीतिक हिंसा गरेको उहाँको भनाइ छ । कांग्रेस प्रदेश नम्बर १ को अधिवेशन मूल्य स्खलनको जिवन्त उदाहरण भएको उहाँले बताउनुभयो ।

पार्टीको सिद्धान्त, आदर्श र मूल्यमान्यतालाई अपहेलित गरेर निर्वाचन सम्पन्न गराइएको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘मूल्य स्खलनको एउटा चरम दृष्टान्त हो, जिवन्त दृष्टान्त हो प्रदेश नम्बर १ को निर्वाचन । पार्टीको सिद्धान्त, आदर्श, मूल्यमान्यतालाई कुल्चेर, त्यसलाई अपहेलित गरेर प्रदेश नम्बर १ को निर्वाचन सम्पन्न भयो । सत्ताको चरम दुरुपयोग गरियो । राजनीतिक हिंसाको श्रृङ्खला उहाँले नै शुरु गर्नुभएको हो ।’

नेता घिमिरेले प्रदेश १ को निर्वाचनमा धनवाद र डनवादको प्रयोग भएको बताउनुभयो । सभापति देउवाले आफ्नो गुटलाई पक्षपोषण र मलजल गर्न प्रधानमन्त्रीको कुर्सी प्रयोग गरेको भन्दै उहाँले पार्टीको महाधिवेशनमा सत्ताको चरम दुरुपयोग गर्नेले मूल्य चुकाउनुपर्ने बताउनुभयो ।

    सम्बन्धित समाचार...