७ बैशाख २०८१, शुक्रबार

सिमानाकामा हुने आवागमन नियन्त्रण गर्न सरकारलाई निर्देशन

2072965237samiti meeting
फाइल फोटो

संसद्को शिक्षा तथा स्वास्थ्य समितिले नेपालमा कोरोना भाइरसको नयाँ स्वरूप ओमिक्रोनको संक्रमण प्रवेश हुन नदिन भारत सँगको सिमानाकामा हुने आवागमन नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकले कोरोना विरुद्धको खोपको पूरा मात्रा लगाएको प्रमाण तथा पिसिआर रिपोर्टका आधारमा मात्रै यात्राको अनुमति दिने गरी व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

बैठकमा समितिका सभापति जयपुरी घर्तीले खुल्ला सिमानाका कारण भारतबाट नेपालमा ओमिक्रोन भाइरस संक्रमण भित्रन सक्ने सम्भावना बढी रहेकाले नियन्त्रणका लागि आवश्यक सबै उपाय अपनाउन निर्देशन दिनुभयो ।

बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले कोरोनाका कारण थप क्षति हुन नदिनु सरकारको पहिलो प्राथमिकता भएको र यसका लागि सरकारले सम्भव भएसम्मका सबै स्रोत, साधन र उपायहरू अपनाउने बताउनुभयो ।

मन्त्री खतिवडाले कोरोना विरुद्धको खोप सबै नागरिक सम्म पुर्‍याउन सरकारले स्थानीय खोप केन्द्रहरूमा खोपको आपूर्ति बढाउने तथा खोप केन्द्र थप गर्ने लगायतका कामहरू गरिरहेको पनि बैठकलाई जानकारी दिनुभयो ।

उहाँले यही महिनाको अन्त्य सम्ममा विद्यार्थी, ज्येष्ठ नागरिक लगायत खोप खोप प्राप्त गर्न बाँकी रहेको लक्षित समूह सम्म पुग्ने गरी सरकारले खोप अभियान सञ्चालनको तयारी गरिरहेको समेत जानकारी दिनुभयो ।