१५ चैत्र २०८०, बिहीबार

कोरोनाविरुद्ध डब्लूएचओ र फिफाको साझा अभियान

fifa and who

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसविरुद्ध विश्व फुटबल महासंघ (फिफा) र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले साझा अभियान थालेका छन्। फिफा र डब्लूएचओले जेनेभास्थित डब्लूएचओको मुख्यालयबाट कोरोनाको संक्रमणबाट जोगिन र रोकथामका लागि ‘कोरोना भाइरस किक आउट टु मेसेज’ नामक अभियान सुरु गरेको हो। फिफाको सहयोगमा सुरु गरिएको यस अभियानको मुख्य उद्देश्य संसारभर फैलिएको कोरोनाबाट मुक्त रहन सन्देश प्रवाह गर्नु रहेको छ।

यस अभियानले डब्लूएचओको निर्देशन अनुरूप कोरोनाको संक्रमणबाट मुक्त रहन मुख्य पाँचवटा कदम चाल्न सामाजिक सन्देश प्रवाह गरेको छ। जसमा विश्वभरका मानिसले आफ्नो स्वास्थ्यको रक्षा गर्न हात धुने, अर्को व्यक्तिसँग हात नमिलाउने, अनुहारमा नछुने, अरू व्यक्तिसँग शारीरिक दूरी बढाउने र अस्वस्थ महसुस भएमा क्वारेन्टाइन बस्न प्रोत्साहन गर्ने विषय उल्लेख छ। यस अभियानलाई संसारभर फैलाउन सन्देशमूलक भिडियोसमेत बनाइएको छ। यस सन्देशलाई अभियानका रूपमा फैलाउन विभिन्न देशका चर्चित २८ जना फुटबल खेलाडीलाई प्रयोग गरिएको छ। उक्त सन्देश विभिन्न १२ भाषामा तयार पारिएको छ।

अभियानको थालनी गर्दै फिफा अध्यक्ष जियानी इन्फान्टिनोले कोरोनासँग लड्न विश्वभरका मानिसको सामूहिक सहयोग चाहिने बताए। ‘कोरोनासँग लड्न हामीलाई सामूहिक सहयोग र ऐक्यबद्धताको खाँचो छ। यस अभियानमा फिफा डब्लूएचओको साथमा काम गर्न पाउँदा खुसी छु। विश्वभरका मानिसको पहिलो प्राथमिकता भनेको स्वास्थ्य हो। म यस अभियानलाई सहयोग र समर्थन गर्न विश्वभरका फुटबल समुदायलाई आग्रह गर्दछु,’ इन्फान्टिनोले भने।

डब्लूएचओका महानिर्देशक डा। टेड्रोस अधानोम घेब्रेयसले कोरोना भाइरसविरुद्धको महाअभियानमा फिफाको साथ रहनु गौरवको विषय भएको बताए। ‘फिफा कोरोना भाइरसलाई निर्मूल पार्ने अभियानमा उभिएको छ। यस खालको सहयोगले विश्व समुदायलाई ठुलो सहयोग पुग्नेछ,’ टेड्रोसले भने।

फिफाले कोरोना भाइरसविरुद्ध लड्न गत साता डब्लूएचओलाई आर्थिक सहयोगको घोषणासमेत गरेको थियो। फिफा अध्यक्ष इन्फान्टिनोले डब्लूएचओलाई १० मिलियन अमेरिकी डलर सहयोगको घोषणा गरेका थिए। फिफाले कोरोनाबाट प्रभावित फुटबल समुदायका सदस्यहरूको सहयोगका लागि छुट्टै विश्वव्यापी फुटबल सहयोग कोषसमेत स्थापना गर्ने जनाएको छ। कोरोनाको कारण अहिले विश्वभर सबैखाले फुटबल गतिविधिहरू ठप्प भएका छन्। एजेन्सी