१४ बैशाख २०८१, शुक्रबार

पहिलो पटक पुग्यो हिमाली गाउँ गौरीशंकरमा बिजुली

ele

राजधानीबाट नजिकै रहेको हिमाली जिल्ला दोलखाको गौरीशंकर गाउँपालिका –९ मा पहिलो पटक बिजुली पुगेको छ ।

भौगोलिक विकटताले हालसम्म यो वडाको कुनै पनि गाउँमा सडक पुर्‍याउन नसके पनि बिजुली आउने भएपछि यहाँका स्थानीय खुशी भएका छन् । ठेकेदार कम्पनी काली ह्युल्सा जेभीले तीन करोड रुपियाँमा ठेक्का सम्झौता गरी रिकुदेखि सुरमुच्चे, क्याल्चे, डोगाँङ, ढाङठिङ हुँदै वेदिङसम्म प्रसारण लाइन विस्तार गरेको हो ।

रिकुदेखि वेदिङसम्म २४ किलोमिटर ११ केभीको प्रसारण लाइन विस्तार भएको नेपाल बिद्युत प्राधिकरण दोलखा वितरण केन्द्रका सहायक ईन्जिनियर राजेन्द्र चौधरीले जानकारी दिनुभयो । प्रसारण लाइन विस्तारका लागि १० मिटरको तीनसय ४० वटा र घर घरमा वितरण लाइनका लागि ८ मिटरको ५० वटा खम्बा गाडिएको उहाँले बताउनुभयो ।

बिद्युत प्रसारण तथा वितरणका लागि आवश्यक तार, खम्बा लगायतका सबै सामग्रीहरु हप्ता दिनसम्म लगाएर मानिसले नै बोकेर पुर्‍याउनको केन्द्रले जनाएको छ । हाल प्रसारण लाइन विस्तारको सबै काम सकेको छ भने, घर घरमा बिद्युत वितरणको लागि आवश्यक खम्बा गाडेर तार टाँग्ने काम सकेको केन्द्रले जनाएको छ ।

क्याल्चे र वेदिङमा ट्रान्सर्फमर जडान हुनेवित्तिकै विद्युत वितरण हुने नेपाल बिद्युत प्राधिकरण दोलखा वितरण केन्द्रका प्रमुख मेघनाथ ढकालले बताउनुभयो । वडाको कुनैपनि गाउँमा सडक नजोडिएकाले ट्रान्सफर्मर ढुवानीमा भने कठिनाइ भएको छ । हेलिकप्टरमार्फत ट्रान्सफर्मर लैजाने तयारी भइरहेको प्रमुख ढकालले बताउनुभयो ।

२५ केभीको दुई वटा ट्रान्सफर्मर केही दिनमै लैजाने तयारी भएको उल्लेख गर्दै उहाँले अबको एक महिनाभित्र ९ नम्बर वडाको सबै गाउँमा विजुली बल्ने बताउनुभयो । प्रसिद्धि च्छोरोल्पा ताल, दूध कुण्ड गौरीशंकर हिमाल र रोल्वालिङ हिमशृङ्खला यहीं क्षेत्रमा पर्ने भएकाले यहाँ थुप्रै पर्यटक लक्षित होटल, लजहरु खुलेका छन् ।

उच्च हिमाली क्षेत्रमा पर्ने यो स्थानमा दाउराको समस्या हुने भएकाले महंगोमा ग्यास ढुवानी गरेर लैजानुपर्ने स्थानीयलाई बाध्यता छ । बिजुली पुगेपछि बिद्युतबाट खाना पकाउने र कोठा न्यानो पार्न हिटर समेत चलाउन सकिने भएकाले स्थानीयको जीवनयापनमा सहजता मात्र नभइ पर्यटकहरुको संख्यामा समेत वृद्धि हुने वडा नम्बर –९ का वडा अध्यक्ष छिरिङ शेर्पाले बताउनुभयो ।