१६ चैत्र २०८०, शुक्रबार

गुणस्तरीय विद्युत् आपूर्तिका लागि प्राधिकरण जुटिरहेको छ: निर्देशक घिसिङ

कुलमान घिसिङ्ग वीरगंजमा अन्तरकृया 1024x693 1

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गुणस्तरीय विद्युत् आपूर्तिका लागि प्राधिकरण जुटिरहेको बताउनुभएको छ ।

उहाँले आवश्यक पूर्वाधार निर्माण गरी ट्रान्समिसन लाइन, ३३ केभिए लाई १३२ केभिएमा परिवर्तन गर्ने र विद्युतको माग भए बमोजिम विद्युत् सप्लाई गर्ने अभियानमा प्राधिकरण जुटेको बताउनुभयो ।

वीरगन्ज उद्योग वाणिज्य सङ्घद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले मुलुकमा ६० प्रतिशत विद्युत् आपूर्तिलाई ९० प्रतिशतमा पुर्‍याइएको बताउनुभयो ।

उहाँले नेपालमा अहिले पनि कतिपय ठाउँमा २४ सै घण्टा लोडसेडिङ हुने गरेको र सो स्थानमा नियमित रुपमा विद्युत् आपूर्ति गर्ने प्राधिकरणको अबको नयाँ चुनौती रहेको बताउनुभयो ।

कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा.सुबोधकुमार गुप्ताले नेपालमा विद्युतको प्रति युनिट मूल्य दक्षिण एसियाका अन्य मुलुकभन्दा बढी भएको, बताउँदै बर्सौँ पुराना विद्युत् पूर्वाधारलाई नयाँ र परिमार्जन गर्नुपर्ने माग गर्नुभयो ।

कार्यक्रममा वीरगन्जका उद्योगी व्यवसायीहरूले विद्युतको उचित व्यवस्थापन र आपूर्तिलाई सहज बनाएर मुलुकका सामु विद्यमान कहालीलाग्दो व्यापार घाटालाई समेत न्यून गर्नुपर्ने तर्फ ध्यान दिन प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई आग्रह गर्नुभएको थियो ।