८ बैशाख २०८१, शनिबार

जनताले देखाइदिन्छन् जनमतको अपमान गर्नेलाई निर्वाचनमा: माधव नेपाल

madhav nepal
फाइल फोटो

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनसम्म गठबन्धन जारी रहने बताएका छन् ।

शनिबार अर्घाखाँचीमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले अहिलेको गठबन्धन निर्वाचनसम्म रहने बताएका हुन् ।

अध्यक्ष नेपालले निर्वाचनमा नेकपा (एमाले)लाई लाइट बालेर खोज्नुपर्ने अवस्था आउने पनि बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानविपरीत दुई–दुई पटक संसद् विघटन गरेपछि अहिले बहुमत ओलीको पार्टीको विपक्षमा रहेको नेपालको दाबी छ ।

“आगामी निर्वाचनपछि केपी ओलीको पार्टीलाई लाइट बालेर खाज्नुपर्ने अवस्था आउने छ, त्यो उदाहरण आज यहाँको उपस्थितिले पुष्टि गरेको छ । यस्तै जनलहर आएको छ सबैतिर, जनमतको अपमान गर्नेलाई निर्वाचनमा जनताले देखाइदिन्छन्,” उनले भने ।

राष्ट्रियसभा निर्वाचनमा रामबहादुर थापा‘बादल’सँग कलम चिन्हका स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटाले पराजित गरेको स्मरण गराउँदै कलम चिन्हको विजयी यात्रा सुरु भइसकेको बताए । संविधानको रक्षा गर्दै संसद् जोगाउने शक्तिहरु निर्वाचनसम्म एकै ठाउँमा रहने दाबी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले निर्वाचनबाट ओलीको पार्टी पत्तासाफ हुने ठोकुवा गरे ।

उनले सरकारमा बस्नेले गलत बाटोमा जान छुट नभएको उल्लेख गर्दै भ्रष्टाचार गर्नेलाई जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।