६ बैशाख २०८१, बिहीबार

शासक दलहरूका कारण देश समस्यामा पर्दै : बिजुक्छे

naraynamanas bidukshe
फाइल फोटो

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रमुख शासक दलहरूका गतिविधिका कारण देश चौतर्फी ढङ्गले समस्यामा पर्दै गएको बताउनु भएको छ ।

भक्तपुर नगरपालिकाले सञ्चालन गरिरहेको ख्वप इन्जिनियरिङ कलेजको २० औँ र ख्वप कलेज अफ इन्जिनियरिङको १३ औँ वार्षिकोत्सवको अवसरमा उहाँले देशका शासक दलहरूको गतिविधिका कारण देश सङ्कटमा फस्दै गएको बताउनुभयो ।

उहाँले नेपालमा प्रत्यक्ष रूपमा विदेशी पुँजी र संस्कृतिको प्रभाव देखिन थालेकाले देश परनिर्भर बन्दै गइरहेको बताउनुभयो ।

अध्यक्ष बिजुक्छेले देशको संविधानमा समाजवादको कुरा उल्लेख भएको तर देश पुँजीवादी भासमा पर्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

समाजवादको सिद्धान्त बोक्ने नेताहरू व्यवहारमा भने पुँजीवादी हुनु विडम्बनाको विषय रहेको उल्लेख गर्दै समाजवादी व्यवस्थामा उत्पादनका साधनहरू राष्ट्रियकरण हुने बताउनुभयो ।

अध्यक्ष बिजुक्छेले शान्तिपूर्ण तरिकाले समाजवाद नआउने भएकाले त्यसका लागि सङ्घर्ष जरुरी रहेकोमा जोड दिनुभयो ।

अध्यक्ष बिजुक्छेले कार्ल मार्क्सको सिद्धान्तमा पुँजीवादको ठाउँमा सर्वहारा वर्गको शासन सत्ता आउँछ भनी उल्लेख गरिएको बताउनुभयो । बौद्धिक व्यक्तिहरूलाई राजनीतिबाट टाढा राख्न भ्रम फैलाइरहेको उल्लेख गर्दै बिजुक्छेले राजनीतिबाट कोही पनि अछुतो नरहने र देशमा निस्वार्थ सेवा गर्ने राजनीतिकर्मीको खाँचो रहेको स्पष्ट पार्नुभयो । देशमा विदेशी विश्वविद्यालय खुलिरहेको बताउँदै उहाँले सर्टिफिकेट समेत बिक्रीको सम्भावना बढेको बताउनुभयो ।

नेमकिपाका सचिव एवं सांसद प्रेम सुवालले ७ वर्ष अगाडि मेडिकल कलेज सहितको ख्वप विश्वविद्यालय सञ्चालनको लागि ख्वप विश्वविद्यालय सम्बन्धी विधेयक दर्ता भइसकेपनि हालसम्म स्वीकृत नभएको बताउनुभयो ।

भक्तपुर नगरप्रमुख सुनिल प्रजापतिले नपाले सञ्चालन गरेका २ वटा इन्जिनियरिङ कलेज सहित ७ वटा शैक्षिक संस्थाहरूमा ६ हजार भन्दा बढी विद्यार्थी अध्ययन गरिरहेको जानकारी दिनुभयो ।

बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईं, पूर्वाञ्चल विश्वविद्यालयका डिन प्राडा देवी प्रसाद भट्टराई, नेपाल इन्जिनियरिङ काउन्सिलका रजिष्ट्रार शिवमंगल गिरी, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा , भक्तपुर नगर उपप्रमुख रजनी जोशी, नपाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ लगायतले सर्वसाधारणको शिक्षाको पहुँच अभिवृद्धिको लागि नपाले गरिरहेको प्रयास र शिक्षाको आवश्यकताको विषयमा चर्चा गर्नुभयो ।