१५ चैत्र २०८०, बिहीबार

अफ्रिकामा भेटिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भारतमा भेटियो, के नेपाल पनि जोखिमको खतरामा छ ?

Omicron O Virus Green COVID

दक्षिण अफ्रिकामा भेटिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ छिमेकी मुलुक भारतमा समेत देखिएपछि नेपालमा चासो र चिन्ता व्यक्त गर्न थालिएको छ।

दक्षिण अफ्रिकाबाट आएका भारतको दक्षिणी राज्य कर्नाटकका ६६ र ४६ वर्षका दुई पुरुषमा यो भाइरस फेला परेको हो।

विश्व स्वास्थ्य संगठनले ओमिक्रोनका कारण ‘संक्रमणको जोखिम उच्च रहेको’ जनाइसकेको छ।

छिमेकी मुलुकमै अहिलेसम्मकै खतरनाक भेरियन्ट मानिएको ‘ओमिक्रोन’ संक्रमित भेटिएको समाचार सार्वजनिक भएपछि नेपालमा पनि त्रास बढेको छ । खुला सीमानाकाका कारण भारतमा भेटिएको संक्रमण नेपालसम्म आइपुग्ने डरले अहिले सर्वसाधारणमा डर र त्रास बढेको छ भने सरकारी संयन्त्रलाई चिन्ता थपिदिएको छ । त्यसैले नेपालले विहीवारबाटै भारतसँग जोडिएका सुदुरपश्चिमका सीमानाकामा कडाइ गरेको छ ।

यसअघि नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।

यस्तै दक्षिण अफ्रिकी नागरिकलाई प्रवेशमा रोक लगाएको छ भने अरु देशका नागरिकको हकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र नेपाल–भारत सीमा नाकाहरुमा परीक्षण गर्ने व्यवस्था गरिएको छ ।

दक्षिण अफ्रिकामा भेटिएको नयाँ भेरियन्ट छोटो समयमा ३० भन्दा बढी देशमा फैलिएर छिमेकी भारतमा पनि देखिएपछि नेपाल सतर्क हुनुपर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका संक्रामक रोग विशेष डा शेरबहादुर पुन बताउनुहुन्छ ।

नयाँ भेरियन्टका बारेमा यकीन रिपोर्ट अझै आइसकेको छैन । तर विश्वका विज्ञहरुका अनुसार यो भेरियन्टमा हाल प्रयोगमा आइरहेको खोपलाई समेत छल्ने क्षमता हुने भएकोले खोप निस्प्रभावी बन्नसक्ने आशंका गरिएको छ । त्यसैले नयाँ भेरियन्टले अर्को ठूलो समस्या ल्याउने हो कि भन्ने चिन्ता बढाएको डा पुनको भनाइ छ ।

अहिले नेपालमा हवाईसेवा पनि खुल्ला भइसकेकोले पनि नेपाल जोखिममा रहेको डा पुन बताउनुहुन्छ ।

भारतसँगको खुला सीमा, विभिन्न मुलुकसँगको सिधा हवाई सम्पर्कका कारण नयाँ भेरियन्ट नेपाल भित्रिन सक्ने डा पुनको तर्क छ। यसभन्दा अगाडिको अनुभवमा पनि भारतमा फैलिएपछि नेपालमा नियन्त्रण गर्न गाह्रो देखिएको छ।

डा पुन ओमिक्रोन, डेल्टा भेरियन्टभन्दा बढी संक्रामक भए जोखिम हुनसक्ने बताउँछन् । बढी संक्रामक हुँदा संक्रमण तीव्र रुपमा फैलिने र उपचार प्रणालीमा समस्या ल्याउने उहाँको भनाइ छ । त्यसैले यसबारेमा सरकारले बेलैमा प्रभावकारी निर्णय गर्नुपर्ने उहाँको सुझाव छ ।