१२ बैशाख २०८१, बुधबार

अगाडि बढिसकेको इतिहास पछाडि फर्किदैन : अध्यक्ष नेपाल

madhav

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले परिवर्तनको गतिलाई रोक्ने काममा नलाग्न सबैलाई आग्रह गर्नुभएको छ । बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एकता अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो ।

‘राष्ट्रियता नेपाली जनताको भावना हो । परिवर्तनको गतिलाई रोक्ने काममा हामी नलागौँ’ अध्यक्ष नेपालले भन्नुभयो, ‘अगाडि बढिसकेको इतिहास पछाडि फर्किदैन ।’

अध्यक्ष नेपालले देशको विशेषता बिर्सिएर विदेशीको नक्कल गर्दा देशको हित नहुने उल्लेख गर्नुभयो । ‘आफ्नो देशको विशेषता बिर्सिएर नक्कल गर्न थालेमा त्यसले देशको हित गर्दैन’, नेपालले भन्नुभयो ।

अध्यक्ष नेपालले गफले नभएर काम गरेर देखाउने पार्टी चाहिएको बताउनुभयो । राजनीतिको केन्द्र नेपाली जनता हुनुपर्नेमासमेत उहाँले जोड दिनुभएको छ । ‘गफले होइन, काम गरेर देखाउने पार्टी चाहिएको छ, अध्यक्ष नेपालले भन्नुभयो, ‘हाम्रो राजनीतिको केन्द्र बिन्दु नेपाली जनता हुनुपर्छ । यो कुराबाट हामी विचलित हुनुहुँदैन ।’

अध्यक्ष नेपालले महाधिवेशनको सफलताको शुभकामना दिँदै संगठनलाई गतिशील बनाएर जनताको आवाजसँग अगाडि बढ्ने कुरामा राप्रपाले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयाे ।