१४ बैशाख २०८१, शुक्रबार

तिन महिना एमालेले पार्टी प्रवेश अभियान सञ्चालन गर्ने

kp sharma oli

एमाले अध्यक्ष केपी शर्मा ओलीले ३ महिना पार्टी एकीकरण अभियान सञ्चालन गर्ने घोषणा गरेका छन्। १०औं महाधिवेशन समापन कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै ओलीले विभिन्न पार्टीका कार्यकर्तालाई पार्टीमा प्रवेश गराउन अभियान नै सञ्चालन गर्ने बताए।

‘अबको तीन महिना पार्टी प्रवेश अभियान सुरु हुन्छ,’ ओलीले भने। पार्टीले नेता नभई कार्यकर्ता भित्र्याउनुपर्नेमा ओलीको जोड थियो। ‘पार्टी पार्टी भेला गरेर हुँदैन,’ ओलीले भने, ‘कार्यकर्ता भेला गर्नुपर्छ। यो अभियानबाट पार्टीलाई माथि उठाइन्छ।’ यो अभियान भने आगामी केन्द्रीय कमिटी बैठकले तय गर्ने ओलीले बताए।

पार्टीको १०औं महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै ओलीले १०औं महाधिवेशनका क्रममा पार्टीका नेतालाई उक्साउन विरोधीले गरेको षड्यन्त्र सफल नभएको दाबी गरे।

पार्टीमाथि आन्तरिक र बाह्य दुवै षड्यन्त्र भइरहेको ओलीले बताए। ‘विरोधीहरूले भडकाइरहेका र उक्साइरहेका थिए,’ ओलीले भने, ‘तर शान्त र एकताबद्ध भएर हामीले विरोधीलाई सफल हुन दिएनौं।’ पार्टीका नेतारकार्यकर्ता हल्का भएर गैरजिम्मेवार भएर नचल्ने ओलीले बताए। उनले केन्द्रीय कमिटीको बैठकको मिति पनि घोषणा गरे। उनले मंसिर २५ गते बैठक बस्ने जानकारी दिए।

यस्तै, नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई नेताको व्यवहार देखाउन निर्देशन दिए। ‘घमण्ड र अहंकार छोडनुहोस्,’ ओलीको निर्देशन थियो, ‘अहंकारी नेता हुँदैन र नेता अहंकारी हुँदैन।’ पुराना केन्द्रीय सदस्यहरूले नयाँ केन्द्रीय सदस्यलाई काम र व्यवहार गर्ने तौरतरिका सिकाउनुपर्ने ओलीले बताए।