१३ बैशाख २०८१, बिहीबार

डडेल्धुरा कांग्रेसको अनशन उपसभापति निधिको उपस्थितिमा स्थगित

dadeldhuera1638275459

एकलौटी ढंगबाट क्रियाशील सदस्यता वितरण गरी गराइएको जिल्ला अधिवेशन बदरको माग गर्दै गराएको अनसनमा बसेका नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्ण मल्लसहितका नेताहरुले अनसन स्थगित गरेका छन्।

पार्टी कार्यालय सानेपामा जारी अधिवेशनको १४ औँ दिनमा उपसभापति विमलेन्द्र निधिको आग्रहपछि उहाँहरुले अनसन स्थगित गरेका हुन्।

डडेल्धुराको मागप्रति आफू सकारात्मक भएको भन्दै उपसभापति निधिले यस विषयमा आफूले सभापति शेरबहादुर देउवासँग मौखिक र लिखित रुपमै पुनः वडा अधिवेशन गर्न आग्रह गरेको स्मरण गराउनुभयाे। यसबारे शुरुमा सभापति देउवा सकारात्मक भए पनि कार्यान्वयन नभएको उल्लेख गर्नुभयाे ।

जिल्लाबाट सिफारिस भएर आएका क्रियाशील सदस्यको नाम काटेर केन्द्रबाट सिधैं नाम थपेपछि विवाद उत्पन्न भएको हो। नेता निधिले सदस्यता छानवीन नगरी निर्वाचन प्रकृया अघि बढाउनु विडम्बनापूर्ण भएको बताउनुभयाे ।

निर्वाचन समितिका सदस्यहरुबीच सहमतिका आधारमा निर्णय गर्नुपर्नेमा अल्पमत र बहुमतका आधारमा निर्णय हुनु दुःखद् भएको निधिको भनाइ थियो। आफ्ना मुद्दाहरुलाई पार्टीका विभिन्न फोरममा राख्दै १४ औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउनका लागि अनशन स्थगित गर्न निधिले आग्रह गर्नुभएकाे थियाे। उहाँले डडेल्धुरा कांग्रेसको मागप्रति ऐक्यवद्धता जनाउनुभयाे ।

क्रियाशील सदस्यता विवादपछि डडेल्धुरामा जारी ११ दिनको अनशनपछि सभापति मल्लसहितका नेताहरु काठमाडौं आएर अनशन बसेका हुन्।