११ बैशाख २०८१, मंगलवार

नयाँ नेतृत्वमा यस्तो सम्भावना छ नेपाली कांग्रेसमा

Nepali Congress CC Meeting 2 1024x598 1
फाइल फोटो

नेपाली कांग्रेसको १४ औं महाधिवेशन आउन अब दुई हप्ता मात्रै बाँकी छ । महाधिवेशन संघारमा आइरहँदा संस्थापन इतर पक्षले मुख्य नेतृत्व परिवर्तनलाई प्राथमिकतामा राख्दै आएको छ ।

पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता गगन थापा लगायतले त हरेकजसो भाषणमा नेतृत्व परिवर्तनको मुद्दा प्राथमिकताका साथ उठाउने गरेका छन् । तर नेतृत्व परिवर्तन सोचेजस्तो सजिलो भने पक्कै छैन तर असम्भव पनि होइन् ।

नेपाली कांग्रेसको यसपटकको महाधिवेशन नीतिमा भन्दा पनि नेतृत्वमा केन्द्रित छ । त्यसैले तल्लो तहदेखि नै चर्को प्रतिस्पर्धा भैरहेको छ । धेरैजसो जिल्लामा अधिवेशन नै सम्पन्न भएको छ भने निर्वाचनको नजिता पनि आइरहेको छ।

केन्द्रीय महाधिवेशनको मिति नजिकिँदै गर्दा कांग्रेसभित्र मुख्य नेतृत्व परिवर्तनको एजेण्डाले प्राथमिकता पाउन थालेको छ । संस्थापन इतर पक्षले नेतृत्व परिवर्तनलाई मुख्य एजेण्डा बनाएको छ ।

गगन थापाले भनेजसो नेतृत्व परिवर्तन सहज छैन। अहिलेसम्म जिल्लाको मतपरिणामलाई आधार मान्ने हो भने सभापति शेरबहादुर देउवा पक्ष केही बलियो देखिन्छ। अहिले निर्वाचित प्रतिनिधिहरुले पनि जुन समूहका लागेर चुनाव जित्न सकिन्छ उही समूहमा लागेको पाइएको छ । जसरी पनि निर्वाचन जित्ने र निर्वाचित भइसकेपछि मात्रै कुन समूहमा खुल्ने भन्ने रणनीति तल्लो तहमा निर्वाचित उम्मेदवारहरुको देखिन्छ ।

अर्कोतर्फ संस्थापन इतर पक्षमै एक ढिक्का नभइसकेको अवस्थामा नेतृत्व परिवर्तन झनै कठिन छ । तर दोस्रो चरणको निर्वाचन भएको खण्डमा इतर पक्ष एक ठाउँमा उभिएमा नेतृत्व परिवर्तन असम्भव भने नरहेको प्रधानको भनाइ छ ।

नेपाली कांग्रेसको महाधिवेशनमा मनी र मसल्सको प्रभावलाई नकार्न पनि सकिँदैन । तल्लो तहमै भएका अधिवेशन पनि निकै खर्चिलो र भडकिलो देखिएको भन्दै आलोचना पनि भैरहेको छ ।

मनी र मसल्सले पनि काम गर्ने हुँदा यस्ले पनि केन्द्रीय नेतृत्व चयनमा थोरै भए पनि प्रभाव पर्ने निश्चित छ । त्यसैले पनि देशका आधाजसो जिल्लाको मत परिणाम आइसक्दा कुन पक्ष सभापतिमा बलियो भनेर अनुमान गर्न कठिन देखिएको छ ।