८ बैशाख २०८१, शनिबार

सर्लाहीमा दुई छोराछोरीसहित आमा मृत फेला

aa 68

सर्लाहीको हजरियामा आइतबार बिहान दुई छोराछोरीसहित एक महिला मृत फेला पर्नुभएको छ ।बरहथवा नगरपालिका–१, हजरिया नयाँ बजारका शिव हजारी पासवानकी श्रीमती २६ वर्षीया कविता, ६ वर्षीया छोरी सलोनी र ४ वर्षीय छोरा स्वागत मृत अवस्थामा फेला पर्नुभएको हो ।

कविताको झुण्डिएको अवस्थामा र दुई छोराछोरीको ओछ्यानमै सुतिरहेको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक उमाशङ्कर प्रसाद यादवले जानकारी दिनुभयो । घटनास्थलको सम्बन्धमा अनुसन्धान भइरहेको र पोष्टमार्टम रिपोर्ट आएपछि थप प्रष्ट हुने प्रहरी नायब उपरीक्षक यादवले बताउनुभयो । मृतक कविताका श्रीमान शिव हजारी विगत चार वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा हुनुहुन्छ ।

कविता आफ्नो दुई सन्तानलाई लिएर छुट्टिएर बस्दै आउनुभएको थियो । उहाँले आफ्नो भागमा परेको एउटा कोठामा खाने, सुत्नेदेखि किराना पसलसमेत सञ्चालन गर्दै आइरहनुभएको थियो । मृतक महिला र दुई छोराछोरीको शव पोष्टमार्टमका लागि आइतबार मध्यान्ह जिल्ला अस्पताल मलङ्गवा पठाइएको छ ।

माइती पक्षसमेत आएपछि शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको बरहथवा प्रहरीले जनाएको छ । मृतक महिलाको माइती रौतहटको देवाही गोनाही हो ।