८ बैशाख २०८१, शनिबार

नेपाललाई बहिष्कार, प्रचण्ड अन्योलमा रहँदा देउवाले सम्बोधन गर्ने एमाले महाधिवेशनमा

Deuba Prachand Madhav Nepal

नेकपा एमालेको भोलि (१० मंसिर) हुने १०‍‌‌‌औँ महाविधेवशन उद्घाटनमा शुभकामना दिन प्रधानमन्त्री शेरबहादुर देउवा चितवन जाने भएका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले चितवन पुगेर महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो।

सत्ता गठवन्धनका अर्का नेता नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने अहिलेसम्म जाने नजाने टुंगोमा पुगिसेका छैनन् । महाविधेशन उद्घाटनका दिन प्रचण्डको काभ्रे जाने कार्यक्रम तय भएको छ । दुईवटा गाउँपालिकामा यसअघि नै तय भएको पार्टीको पालिका अधिवेशनमा प्रमुख अतिथि भएर प्रचण्ड जाँदैछन् ।

‘अध्यक्ष प्रचण्ड महाभारत गाउँपालिका र खानीखोला गाउँपालिकाको पालिका अधिवेशनमा प्रमुख अतिथि हुनुहन्छ, त्यही भएर उहाँ महाधिवेशनमा शुभकामना दिन जाने नजाने टुंगो भइसकेको छैन,’ प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जनतापाटीसँग भने ।

त्यस्तै, सत्तागठवन्धनकै अर्को दल नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपाललाई भने एमालेले बहिष्कार नै गरेको छ । सवै दलका शीर्ष नेतालाई निम्तो दिइएको कार्यक्रममा नेपाललाई निम्तो नै गरिएको छैन । निम्तो नपाएपछि सो पार्टीको जिल्ला तहका नेतासमेत उद्घाटन समारोहमा नजाने भएका छन् ।