२३ बैशाख २०८१, आईतवार

कान्तिपुर मिडिया ग्रुपका सबै प्रकाशनहरु अनिश्चितकालका लागि बन्द

kantipur publications newspaper

कान्तिपुर मिडिया ग्रुपले कान्तिपुर दैनिक लगायत आफ्ना सबै प्रकाशनहरु अनिश्चितकालका लागि बन्द गरेको छ । कोरोना भाइरसको विश्वव्यापी महामारीलाई मध्यनजर गर्दै सबै प्रकाशनहरु बन्द गर्ने निर्णय गरिएको कान्तिपुर प्रकाशनले जनाएको छ ।

‘आफ्ना सहकर्मीको संवेदनशील अवस्था, आम नागरिकको मनोभावना र राज्यको आह्वान– यी तीनवटै कुरालाई दृष्टिगत गर्दै हामी एउटा कठोर तर अत्यावश्यक निर्णयमा पुगेका छौं । जसअनुरूप कान्तिपुर, दी काठमान्डु पोस्ट, साप्ताहिक, नेपाल र नारी पत्रिकाको मुद्रण तथा वितरण शुक्रबारपछि केही दिनका निम्ति स्थगन हुनेछन् । त्यसपश्चात् हामी दैनिक रूपमा परिस्थितिको आकलन गर्नेछौं र हालको स्थितिमा अलिकति सुधार आउनासाथ हाम्रा पत्रिकाहरू पूर्ववत् प्रकाशित गरिनेछन्’, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले विशेष प्रकाशकीय मार्फत जानकारी दिएका छन् ।

“विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीले हामीलाई पनि छोइसकेको छ । नेपालमा अहिलेसम्म अन्यत्रझैं व्यापक संक्रमण देखा नपरे पनि यसले कुनै पनि बेला ठूलै प्रकोपको रूप लिन सक्ने जोखिमबारे तपाईं–हामी जानकारै छौं । यो अवस्थामा जनउत्तरदायी पत्रकारिता गर्दै आएको कान्तिपुर मिडिया ग्रुप (केएमजी) ले जनताकै हितलाई केन्द्रमा राख्दै लिएका केही महत्त्वपूर्ण निर्णयहरू पाठकसमक्ष राख्न चाहन्छ ।”

पत्रिका स्थगन गर्नुपर्नाका कारण खुलाउँदै सिरोहियाले भनेका छन्, “प्रथमतः कोरोना भाइरस सिर्जित हालको संकटपूर्ण घडीमा हाम्रा निम्ति आफ्ना पाठक, सहकर्मी कर्मचारी र आम नागरिकको स्वास्थ्य प्राथमिकताको मुख्य विषय हो । अहिलेको असामान्य अवस्थामा हाम्रा वितरक–वाहक र बिक्रेताहरूले ठूलो जोखिम मोलेर सबेरै घर–पसलमा पत्रिका पुर्‍याउँदै आएका छन् । प्रेसका प्राविधिक सहकर्मीले रातभरि खटेर पत्रिका छाप्ने काम गर्दै छन् । हाम्रा संवाददाता र फोटो पत्रकारहरू ज्यान जोखिममा हालेर फिल्डमा खटिने गरेका छन् ।

हामी हरेक बिहान सकेसम्म चाँडै सबैका ढोका–ढोकामा पत्रिका पुर्‍याउन चाहन्छौं, तर यसरी पत्रिका बाँड्दै हिँड्ने वितरक–वाहकहरूको स्वास्थ्य र सुरक्षा अहिले हाम्रा निम्ति सरोकारको गम्भीर विषय बनेको छ । हामीले उनीहरूमा भाइरसको संक्रमण नहोस् भनेर मास्क, पञ्जा र स्यानिटाइजरको व्यवस्था गरेका छौं । अन्य सुरक्षा सावधानी पनि अपनाएका छौं । तापनि सहरका अनेक टोल र ठाउँहरू हिँड्दै गर्नुपर्ने काम भएकाले कुनै पनि बखत संक्रमित हुन सक्ने र त्यसबाट रोग फैलन सक्ने खतरालाई हामी बेवास्ता गर्न सक्दैनौं । सबै तहका सहकर्मीको जीवनरक्षा हाम्रो पहिलो दायित्व हो ।

दोस्रो, हामीले पाठकहरूलाई सही समाचार–विचार दिन सकियोस् भनेर यो कर्तव्य निर्वाह गर्दै आएका हौं । तर थुप्रै पाठक एवम् शुभेच्छुकहरूले नै पत्रिका छापिने खबरकागजमार्फत पनि भाइरस सर्न सक्ने जोखिमतर्फ हामीलाई सजग तुल्याउनुभएको छ । अहिलेसम्म पत्रपत्रिकामार्फत कोरोना भाइरस विस्तार भएको प्रमाणित घटना हामीले फेलापारेका छैनौं । तर यस्तो जोखिम छँदै छैन भनेर ठोकुवा गर्न सक्ने अवस्थामा पनि छैनौं । पाठकहरूको स्वास्थ्य र सुरक्षा सुनिश्चितता हाम्रो सरोकारको अर्को प्रमुख विषय हो ।

तेस्रो, राज्यले अहिले कोरोना संक्रमण फैलन नदिन देशव्यापी ‘लकडाउन’को घोषणा गर्दै औषधि र खाद्यान्नबाहेक ओसारपसार र आवागमन बन्द गरेको छ । मुलुकभित्र कुनै पनि माध्यम वा वस्तुबाट भाइरस प्रवाह हुन नपाओस् भन्ने सरकारको आह्वान र प्रयत्नलाई जनताका घरघरमा अखबार पु¥याइरहेका हामीले पनि जिम्मेवारपूर्ण भई मनन् गर्नुपर्ने असामान्य अवस्था आएको छ ।

आफ्ना सहकर्मीको संवेदनशील अवस्था, आम नागरिकको मनोभावना र राज्यको आह्वान– यी तीनवटै कुरालाई दृष्टिगत गर्दै हामी एउटा कठोर तर अत्यावश्यक निर्णयमा पुगेका छौं । जसअनुरूप कान्तिपुर, दी काठमान्डु पोस्ट, साप्ताहिक, नेपाल र नारी पत्रिकाको मुद्रण तथा वितरण शुक्रबारपछि केही दिनका निम्ति स्थगन हुनेछन् । त्यसपश्चात् हामी दैनिक रूपमा परिस्थितिको आकलन गर्नेछौं र हालको स्थितिमा अलिकति सुधार आउनासाथ हाम्रा पत्रिकाहरू पूर्ववत् प्रकाशित गरिनेछन् । नियमित ग्राहकहरूले हाल बन्द गरिएको अवधिको पत्रिकाका अतिरिक्त अंक पाउने व्यवस्था मिलाइनेछ ।”

एकपछि अर्को अप्ठेरोमा पनि काम गर्दै आएको स्मरण गर्दै कान्तिपुरले आफ्नो प्रकाशकीयमा भनेको छ, “पाठकहरूलाई थाहै छ, यसअघि कुनै पनि किसिमका प्रतिकूलताले हामीलाई रोकेन र छेकेन । खासमा पत्रकारिता प्रतिकूलताका बेला पन्छिने पेसा पनि होइन । हामीले एकपछि अर्को अप्ठ्याराका बीचमै सार्थक पत्रकारिता गर्दै आयौं, चाहे त्यो सशस्त्र द्वन्द्व होस् वा शाही अधिनायकत्व अथवा विभिन्न खाले दमन वा अवरोध खडा गरिएको बेला होस्, कान्तिपुर सदैव सत्तीसालझैं ठिङ्ग उभिरह्यो । हामीलाई त्यो ऊर्जा हाम्रा पाठकहरूकै साथबाट प्राप्त भएको थियो । अहिले आम पाठककै आग्रह र सुझावमा हामी विगतभन्दा फरक निर्णय लिन बाध्य भएका हौं । कर्फ्यु वा अन्य निषेधाज्ञाका बेला जुनसुकै अप्ठ्यारा तोडेर पनि हामी आफ्ना पत्रिका पाठकका हात–हातमा पुर्‍याउँथ्यौं । अहिलेको महामारीको प्रकृति नै यस्तो छ, हात–हातबीच नै दूरी राख्नुपर्ने भएको छ । कुनै पनि बाहिरी वस्तुसँग जति धेरै ‘भौतिक दूरी’ राख्न सक्यो, सम्भावित खतराबाट जोगिन उति सहज हुने अवस्था छ । त्यसैले अहिले पत्रिका र पाठकबीच अस्थायी रूपले दूरी कायम राख्नुपर्ने बाध्यता आइपरेको हो ।”

“जहाँसम्म प्रतिकूल परिस्थितिमा पनि प्रभावकारी पत्रकारिता गरिरहनुपर्ने जिम्मेवारी हो, त्यसमा हामी पूर्णरूपमा प्रतिबद्ध नै छौं । अहिले केही समय हाम्रा प्रिन्ट माध्यममात्र स्थगित भएका हुन्, हामीसँग सशक्त डिजिटल माध्यमहरू छँदै छन् । ईकान्तिपुर डट कम, काठमान्डुपोस्ट डट कमलगायत केएमजीका डिजिटल प्लाटफर्ममार्फत हामी छिनछिनमा समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता, फोटो, भिडियो आदि लिएर आइरहने छौं । केएमजीका अन्य दुई महत्त्वपूर्ण अंगहरू– कान्तिपुर टेलिभिजन र रेडियो कान्तिपुर सदाझैं दर्शक एवम् स्रोताको सेवामा प्रस्तुत भइरहने छन् ।

पाठक र कान्तिपुरबीच झन्डै तीन दशकदेखिको सम्बन्ध यति मजबुत र गाढा छ कि यसलाई कुनै पनि क्षणिक भाइरसले तोड्न सक्ने छैन । अहिलेको बाध्यात्मक निर्णयबाट तपाईंहरूलाई पुग्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं ।

यो अभूतपूर्व संकटलाई घरमै बसेर, बाहिरी वस्तु एवम् व्यक्तिहरूसँग टाढै रहेर मात्र जित्न सम्भव छ । आशा छ, हाम्रा सम्पूर्ण पाठकले अहिलेको यो विश्वव्यापी विपत्तिलाई पार लगाउन आ–आफ्नो ठाउँबाट भूमिका खेल्नु हुनेछ,” कान्तिपुरले प्रकाशकीयमार्फत भनेको छ ।

यसअघि दाङ, सप्तरीलगायत मोफसलबाट प्रकाशित हुने दैनिक तथा साप्ताहिक पत्रिकाले पनि आफ्ना प्रकाशन बन्द गरिसकेका छन् ।

नेपाल पत्रकार महासंघका उपसभापति विपुल पोख्रेलले मोफसलमा पनि धेरै पत्रिका बन्द भएको जानकारी गराए ।

“मेरो जानकारीमा आएका अहिलेसम्म ७ वटा बढी जिल्लाबाट प्रकाशित हुने पत्रिकाको प्रकाशन तत्कालका लागि स्थगन भएका छन्,” उनले भने, “अरु धेरैजनाको चासो अहिले काम गर्न सकिने अवस्था पनि छैन अहिले बन्द गर्दा भोलि काउन्सिलको सूचीमा परिने हो कि होइन भन्ने चिन्ता पनि छ ।”

उनले एउटा पत्रिका कारखानाबाट पाठकको हातसम्म पुग्दा धेरै ठाउँ हुँदै छोइएर पुग्ने हुँदा जोखिम बढेको बताए ।

“एकैठाउँमा बसेर काम गर्न जोखिम भयो । सबै बन्द छ वितरण कहाँ गर्ने ? कोरोनाबाहेकका समाचार छैनन्,” पोख्रेलले भने ।

यता काठमाडौंबाट प्रकाशित हुने अन्य दैनिक पत्रिकाले सबै पत्रकारलाई घरबाटै काम लगाएको छ ।

“फ्रि मुभमेन्टका लागि समस्या छ । पत्रकारहरु पनि यो बेला फिल्डमा जान डराउने नै भए,” नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुँइटेलले भने, “हामीले पनि अधिकांश काम घरैबाट गरेका छौं ।”

उनका अनुसार एकदमै थोरै पत्रकार मात्रै कार्यालय पुग्ने गरेका छन् ।

“थोरै जनशक्तिमा काम गराइरहेका छौं,” उनले भने, “म दिनको एकपल्ट अफिस पुग्ने गरेको छु । सीमित पत्रकारहरु मात्रै अफिस आउनुहुन्छ । प्रविधिले मद्धत गरेको छ । घरमै बसेर पेज बनाउने र पठाउने काम गरेका छौं ।”

उनले अरु सामान्य कालमा जस्तो नभएकाले सशक्त उपस्थिति जनाउनुपर्ने सञ्चारमाध्यमले त्यसो गर्न नसकिएको बताए ।

“यस्तो बेला सञ्चारमाध्यमले झनै सशक्त काम गर्नुपर्ने भए पनि आफैंलाई पनि डर हुने भयो,” उनले भने, “हामीलाई यस्तो समस्यामा कसरी रिपोर्टिङ गर्ने भन्ने जान्नुपर्दो रहेछ । हामीसँग यस्तो अनुभव पनि थिएन । त्यो कुरा अहिले आएर महसुस भएको छ । हामीकहाँ आइपुग्छ भन्ने थाहा थियो । भनेजति पेज निकाल्न त सकिएको छैन । भनेजति समाचार दिन सकिएको छैन ।”

उनले यस्तो बेला ‘फेक न्युज’ फैलिने हुँदा मेनस्ट्रिम मिडियाको भूमिका झनै सशक्त हुनुपर्ने बताए ।

अन्नपूर्ण पोस्टका प्रधान सम्पादक हरिबहादुर थापाले आफूहरुका सबै काम घरैबाट भएको बताए ।

“हामीले सबै काम घरैबाट गरेका छौं,” उनले भने, “समाचार सबै पत्रकारहरुले घरैबाट पठाउन सक्ने व्यवस्था गरेका छौँ । डिजाइन पनि घरैबाट गरिएको छ ।”

उनले बिहान वितरणमा ६ बजे अघि केही सहज हुने भएकाले सीमित ग्राहकको घरमा मात्रै पत्रिका पुर्‍याउन सकिएको बताए ।

    सम्बन्धित समाचार...