७ बैशाख २०८१, शुक्रबार

केही न्यायाधीश इजलासमा, केही अझै छलफलमा

Supreme Court 43KnAVGEAY

बन्दी प्रत्यक्षीकरण मुद्दा मात्र सुनुवाइ गर्दै आएका सर्वोच्चका चार न्यायाधीशले आजदेखि नियमित सुनुवाइ थालेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले निकास दिनुपर्ने भन्दै बन्दी प्रत्यक्षीकरणका मुद्दाबाहेक अन्य मुद्दा नहेर्ने भन्दै इजलासमा बस्न इन्कार गर्दे आएका मध्ये केही न्यायाधीशले आजदेखि सबै प्रकृतिका मुद्दामा सुनुवाइ थालेका हुन् ।

न्यायाधीश बमकुमार श्रेष्ठ र मनोजकुमार शर्माको संयुक्त इजलास र अर्को न्यायाधीश तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासले आज बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा सुनवाइ थालेको हो ।

न्यायाधीश प्रकाश कुमार ढुङ्गाना र कुमार चुडालको संयुक्त इजलासले पेशी तोकिएको बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गरेको छ ।

आजका लागि गठन गरिएका दश इजलासमध्ये ३ वटामा मुद्दाको सुनुवाइ भए पनि अन्य ७ वटा इजलास भने आज पनि बसेन ।

आजका लागि गठन गरिएका सबै इजलासमा कुल २ सय ७९ मुद्दाको पेसी तोकिएको थियो । तीमध्ये ३० वटा मुद्दामा मात्र सुनुवाइ भएको छ ।

न्यायाधीशहरूको समूहबाट अलग भएको घोषणा गरेका सर्वोच्च अदालतका पाँच न्यायाधीशको इजलासले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाको सुनुवाइ गरेको हो ।

तीन सातादेखि सामूहिक छलफलमा रहेका न्यायाधीश तेजबहादुर केसी, कुमार रेग्मी, बम कुमार श्रेष्ठ, मनोज कुमार शर्मा र कुमार चुडालले सोमबार असन्तुष्ट न्यायाधीशहरूको छलफलमा नजाने घोषणा गरेका थिए ।

कानुन व्यवसायीका कारण आज एउटा इजलासमा पेशी तोकिएको बन्दी प्रत्यक्षीकरण मुद्दा समेत स्थगित भएको छ ।

यसैबिच, प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले आज पनि सर्वोच्च अदालतको मुल गेटमा धर्ना दिएको छ ।

प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउँदै धर्नामा बसेको बारले केही दिन यता इजलास बहिष्कार गरेर थप दबाब बढाएको छ ।

आफ्नै राजीनामा माग्दै आएको बारलाई प्रधानन्यायाधीश जबराले सोमबार वक्तव्य निकालेर वार्तामा बस्न आह्वान गर्नुभएको छ ।

यता बारले भने प्रधानन्यायाधीश जबराको राजीनामा नै विद्यमान समस्याको एक मात्र निकास भएको भन्दै वार्तामा नबस्ने अडान राखेको छ ।

प्रधानन्यायाधीश जबराले सत्तामा भाग खोजेर न्यायिक विचलन निम्त्याएको भन्दै न्यायाधीशहरू र नेपाल बार एसोसिएसन तीन साता यता आन्दोलनमा छन् ।