८ बैशाख २०८१, शनिबार

पहिलो मैत्रीपूर्ण टी–ट्वान्टी क्रिकेटः राष्ट्रिय महिला क्रिकेट टोलीद्वारा कतार पराजित

nepal women cricket team 63 1 63

पहिलो मैत्रीपूर्ण टी–ट्वान्टी क्रिकेटमा नेपाली राष्ट्रिय महिला टोलीले कतारलाई पराजित गरेको छ ।

मंगलबार दोहामा भएको तीन शृंखलाको पहिलो खेलमा नेपालले कतारलाई ११९ रनले पराजित गरेको हो ।

जितका लागि १४७ रनको लक्ष्य पाएको कतार ११ ओभर ५ बलमा मात्र २७ रनमा अलआउट भएको थियो । नेपालको धारिलो बलिङ सामु कुनै पनि कतारी खेलाडी खुलेर खेल्न सकेनन् ।

कतारका ७ खेलाडी शून्यमै आउट भएका थिए भने कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालकी कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३ विकेट लिइन् । ११ बल फालेकी रुविनाले १ रन दिएर ३ विकेट लिएकी थिइन् । यस्तै कविता कुँवर र सिता राना मगरले समान २ विकेट लिए । यता, करुना भण्डारीले १ विकेट लिइन् ।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १४६ रन बनाएको थियो ।

नेपालको लागि इन्दु बर्माले अर्धसतकसहित सर्वाधिक ५५ रन बनाइन् । ४५ बल खेलेकी इन्दुले ५ चौका प्रहार गरेकी थिइन् । यस्तै सिता राना मगरले ३९ रनको योगदान गरेकी थिइन् ।

नेपालले कतार भ्रमणमा तीन टी–ट्वान्टी खेल खेल्नेछ । यसपछि नेपाली टोली ग्लोबल छनोट खेल्न संयुक्त अरब इमिरेट्स प्रस्थान गर्नेछ ।