१३ बैशाख २०८१, बिहीबार

तीव्र तयारी काँग्रेसको १४औँ महाधिवेशन, विभिन्न समिति गठन

Congress

नेपाली काँग्रेसले आसन्न १४औँ महाधिवेशनको तयारीलाई तीव्र बनाएको छ । पार्टीले महाधिवेशन सम्पन्न गर्न विभिन्न समिति र उपसमिति गठन गर्नाका साथै व्यवस्थापकीय कार्य अघि बढाएको छ । काँग्रेसको महाधिवेशन आगामी मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा तय गरिएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको आइतबार सम्पन्न बैठकले महाधिवेशन सम्पन्न गर्न केन्द्रमा सभापति शेरबहादुर देउवाको संयोजकत्वमा महाधिवेशन तयारी मूल समिति गठन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । समितिमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरू, आमन्त्रित केन्द्रीय सदस्यहरू, सङ्घीय संसद्का सदस्यहरू, सात वटै प्रदेशका प्रदेश संसदीय दलका नेताहरू सदस्य रहनुभएको छ ।
यस्तै केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीको संयोजकत्वमा अर्थ सङ्कलन समिति, सह महामन्त्री डा प्रकाशशरण महतको संयोजकत्वमा विदेशी पाहुना स्वागत तथा व्यवस्थापन, प्रवक्ता विश्वप्रकाश शर्माको संयोजकत्वमा प्रचारप्रसार, केन्द्रीय सदस्यहरू सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा भोजन तथा आवास व्यवस्थापन, मोहनबहादुर बस्नेतको संयोजकत्वमा स्वास्थ्य र सीता गुरुङको संयोजकत्वमा सांस्कृतिक समिति गठन गरिएको छ ।

नेपाल भूतपूर्व सैनिक सङ्घका अध्यक्ष कर्णेल धनबहादुर मास्की रानाको संयोजकत्वमा स्वयंसेवक व्यवस्थापन र पार्टीको काठमाडौँ जिल्ला सभापति संयोजक र ललितपुर एवं भक्तपुर जिल्ला सभापति सदस्य रहेको उद्घाटन समारोह एवं मञ्च व्यवस्थापन समिति गठन गरिएको उहाँले बताउनुभयो । केन्द्रीय महाधिवेशन प्रतिनिधिले नामावली दर्ता शुल्कबापत रु तीन हजार बुझाउनुपर्ने पार्टीले निर्णय गरेको छ ।

बैठकले आयरल्यान्ड, फ्रान्स, नेदरल्यान्ड, बेलायत, साइप्रस, पोर्चुगल (छुट ४० जना) र क्यानाडास्थित नेपाली जनसम्पर्क समितिहरूबाट प्राप्त क्रियाशील सदस्यताको नामावलीको सूचीलाई स्वीकृत गर्ने र तत्काल अधिवेशनको मिति प्रस्ताव गर्न निर्देश गर्ने निर्णय गरेको छ ।

यस्तै नेपाली जनसम्पर्क समिति अष्ट्रेलिया र नेपाली जनसम्पर्क समिति डेनमार्कका नवीकरण गर्न छुट भएका पुराना क्रियाशील सदस्यले नवीकरण गर्न चाहेमा र क्रियाशील सदस्यता पाउन योग्यता पुगेका र आवेदन गरेका व्यक्तिले नयाँ सदस्यता लिन चाहेमा तोकिएको शुल्क लिई नवीकरण गरिदिने र नयाँ सदस्यता प्रदान गर्ने गरी उक्त देशबाट प्राप्त क्रियाशील सदस्यता स्वीकृत गरिएको छ । नेपाली जनसम्पर्क समिति इजरायल र पोर्चुगलबाट पठाइएको संशोधित विधानलाई स्वीकृत गरिएको छ ।

क्रियाशील सदस्यताको नामावली, सदस्यता शुल्क र सहयोग रकम (लेवी) लगायतको विवरण पठाउन बाँकी रहेका जनसम्पर्क समितिहरूलाई एक हप्ताभित्र पठाउन निर्देश गर्ने बैठकले निर्णय गरेको छ । अधिवेशन सम्पन्न भएका जनसम्पर्क समितिहरूबाट प्राप्त प्रतिवेदनअनुसार महाधिवेशनमा प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरूको नामावली विवरण क्रमशः केन्द्रीय निर्वाचन समितिलाई उपलब्ध गराउने बैठकको निर्णय छ ।

यूरोपस्थित अष्ट्रियामा बसोबास गर्ने १११ जना नेपालीको उपस्थितिमा भेलाको आयोजना गरी, नेपाली जनसम्पर्क समिति स्थापना गरी आबद्धताका लागि हस्ताक्षरसहित उपस्थितिको प्रतिलिपि, विधानको मस्यौदालगायत आवश्यक कागजात पेस हुन आएकाले, नेपाली जनसम्पर्क तदर्थ समिति अष्ट्रियालाई आबद्धता प्रदान गरिएको छ ।

यसै गरी मुलुकका सात प्रदेशमा पार्टीको प्रदेश अधिवेशन सम्पन्न गर्न प्रदेश अधिवेशन आयोजक समिति गठन गरिएको छ । त्यसका लागि प्रदेश नं १ मा नेता कृष्णप्रसाद सिटौला, प्रदेश नं २ मा नेता रमेश रिजाल, वाग्मती प्रदेशमा नेता प्रकाशमान सिंह, गण्डकी प्रदेशमा नेता गोपालमान श्रेष्ठ, लुम्बिनी प्रदेशमा नेता बालकृष्ण खाँण, कर्णाली प्रदेशमा नेता जीवनबहादुर शाही र सुदूरपश्चिममा नेता दिलेन्द्रप्रसाद बडूलाई संयोजकको जिम्मेवारी तोकिएको छ ।

प्रदेश अधिवेशन आयोजक समितिमा सम्बन्धित प्रदेशभित्रका पार्टीका केन्द्रीय सदस्यहरू, जिल्ला सभापतिहरू, प्रदेशसभा संसदीय दलका नेता र प्रदेशसभा सदस्यहरू, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष सदस्य रहनुहुनेछ । प्रदेश अधिवेशन प्रतिनिधिले नामावली दर्ता शुल्कबापत रु दुई हजार बुझाउनुपर्नेछ । काँग्रेसको पहिलो पटक गर्न लागेको पार्टीको प्रदेश अधिवेशन आगामी मङ्सिर १६ र १७ गर्ने अधिवेशन कार्यतालिका छ ।