१४ बैशाख २०८१, शुक्रबार

एउटा घरमा चोर्न गएका युवा छतबाट लडेर घाइते

chori ghaite

चोरी गर्न शुक्रबार बिहान विराटनगरको एउटा घरमा छिरेका एकजना युवा छतबाट लडेर गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार चोरी गर्न विराटनगर महानगरपालिका–८ की हेमकुमारी भुजेलको घरमा छिरेका मोरङको कटहरी गाउँपालिका–२ का २५ वर्षीय सतिस विश्वास बिहान साढे २ बजेतिर लडेर घाइते भएका हुन् ।

घरमा चोरी हुन लागेको थाहा पाएपछि घरधनीले होहल्ला गर्दा भाग्ने क्रममा विश्वास लडेर घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए । उनका अनुसार होहल्ला हुन थालेपछि विश्वास हेमकुमारीको घरबाट हामफालेर छिमेकी अजिम यादवको २ तले घरको छतमा पुगेका थिए । यादवको घरको छतबाट हामफालेर भाग्न खोज्दा लडेर गम्भीर घाइते भएका विश्वासको टाउको, हात र खुट्टामा चोट लागेको डीएसपी श्रेष्ठले बताए ।

उनका अनुसार गम्भीर अवस्थाका युवालाई उपचारका लागि तत्काल कोसी अस्पतालमा भर्ना गरिएको थियो । कोसीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई विराटनगरको नोबेल शिक्षण अस्पताल लगिएको छ ।