१६ चैत्र २०८०, शुक्रबार

प्रतिबन्ध लगाए यूरोपतर्फको ग्यास आपूर्ति बन्द गर्ने बेलारुसको चेतावनी

natural gas pipelines

बेलारुसले आप्रवासी संकटलाई लिएर आफ्नो मुलुक माथि प्रतिबन्ध लगाइए यूरोपतर्फको ग्यास आपूर्ति बन्द गर्ने चेतावनी दिएको छ ।

पश्चिमी सीमामा पोल्याण्ड हुँदै यूरोप जाने आप्रवासीको संख्या बढेर समस्या चर्किँदै गएपछि बेलारुसले यस्तो चेतावनी दिएको हो । ईयूले बेलारुसमाथि नयाँ प्रतिबन्धको प्याकेजको तयारी गरिरहेको जनाइएको छ ।

बेलारुसका राष्ट्रपति अलेक्जेण्डर लुकाशेन्कोले यूरोपको चेतावनीलाई उचित जवाफ दिइने बताएका छन् । योसंगै यूरोपमा प्राकृतिक ग्यासको अभाव र मूल्य वृद्धि हुने त्रास बढेको छ ।

बेलारुस हुंदै रुसबाट यूरोपमा ग्यास आपूर्ति हुंदै आएको छ । कठ्यांग्रिदो मौसममा सयौं आप्रवासी पोल्याण्डको सीमामा बसिराखेका छन् ।

तिनीहरूमध्ये अधिकांश मध्यपूर्व र एशियाका रहेको जनाइएको छ । पोल्याण्ड, लिथुवानिया र लात्भियाले हालैका महिनाहरूमा बेलारुसबाट अवैध रूपमा आफ्नो देशमा प्रवेश गर्न खोज्नेहरूको संख्यामा वृद्धि भएको बताएका छन् ।

पोल्याण्डले आप्रवासी संकटमा रुसको संलग्नता रहेको आरोप लगाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकट साझेदार बेलारुसका राष्ट्रपति लुकाशेन्काले आप्रवासी संकट सिर्जना गराएको तर त्यसको मुख्य योजनाकार मस्कोमा रहेको आरोप लगाएको छ ।

ब्रशेल्स र वार्साले युरोपेली संघले बेलारुसमाथि प्रतिबन्ध लगाएपछि गैरकानूनी आप्रवासीलाई हतियारका रूपमा प्रयोग गरेको आरोप समेत लगाएको छ । तर बेलारुसले आरोप अस्वीकार गरेको छ ।