८ बैशाख २०८१, शनिबार

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ समापन

chhath puja

उदाउँदो सूर्यलाई अर्घ दिई ४ दिवसीय छठ महापर्व आज बिहानबाट सम्पन्न भएको छ । झन्डै ३६ घण्टादेखि निराहार व्रतालुले उदाउँदो सूर्यलाई अर्घ प्रदान गरी तथा सूर्य कथा सुनेर अन्नजल ग्रहण गरेसँगै छठ समापन भएको हो ।

गत सोमबार नहाय–खाएसँगै पर्व सुरु भएको थियो । आज बिहान वीरगन्जको ऐतिहासिक घडीअर्वा पोखरी,नगवा,माईदिया,लक्ष्मणवा लगायतका पोखरी तथा बारा पर्सा रौतहट जिल्लाका छठ घाटहरुमा उदाउँदो सूर्यलाई अर्घ दिने कार्य सम्पन्न भएसँगै यस वर्षको छठ पर्व बिधीवत रुपमा समापन भएको हो ।

मूल विधि चतुर्थीदेखि सुरु भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजा अर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ ।

व्रतालुहरूले आज बिहान नदी तथा पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दूर लगाई अक्षता, फूल लिई आफ्नो खेतबारीमा उत्पादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई अर्घ अर्पण गरेका थिए ।