१६ चैत्र २०८०, शुक्रबार

निजी क्षेत्रलाई फोहर व्यवस्थापनको जिम्मा

fohor byawasthapan

गोरखा नगरपालिकाले नगर क्षेत्रभित्रका फोहर व्यवस्थापन गर्ने जिम्मा निजी क्षेत्रलाई दिएको छ । नगरपालिकाले फोहर सङ्कलन तथा व्यवस्थापन गर्नेलगायतका सबै जिम्मेवारी क्लिन गोरखा प्रालिलाई दिएको हो । नगरवासीले फोहर व्यवस्थापन गर्न नगरपालिकाले नसकेको आरोप लगाइरहेका थिए ।

नगरपालिकाका वातावरण अधिकृत धु्रव घिमिरेले निजी क्षेत्रसँग सम्झौता गरी यही कात्तिक १६ गतेदेखि फोहर उठाउने सबै जिम्मेवारी दिएको उहाँले जानकारी दिनुभयो । “अबदेखि नगरपालिकाभित्रका १४ वटै वडाको फोहर सङ्कलन गर्ने काम प्रालिले गर्छ”, उहाँले भन्नुभयो, “प्रालिले नै नगरवासीसँग फोहर व्यवस्थापनको शुल्क लिनेछ ।”

सो कम्पनीले नगरपालिकामा रु दुई लाख धरौटी राखेर फोहर सङ्कलन सुरु गरिसकेको छ । “अहिले सम्झौताअनुसार धरौटी रकम राखेर प्रालिले काम सुरु गरिसकेको छ”, उहाँले भन्नुभयो, “सम्झौता लागू भएको छ महिनासम्म नगरपालिका हाल नगरपालिकामा कार्यरत सरसफाइमा खटिँदै आएका सात कर्मचारीलाई प्रालि र नगरपालिकाले आधा/आधा तलब खुवाउने र पछि प्रालिले नै तलब खुवाउनु पर्नेछ ।”

नगरपालिकाले प्रयोग गर्दै आएको फोहर उठाउने एउटा ट्र्याक्टर र टिपरसमेत एक वर्षका लागि सो कम्पनीलाई प्रयोग गर्न दिने र एक वर्षपछि भने उसले नगरपालिकाले निर्धारण गरेअनुसारको मासिक भाडा नगरपालिकालाई बुझाउने गरी सम्झौता भएको उहाँले बताउनुभयो । कम्पनीले नगरपालिकाको मापदण्डभित्रै रहेर नगरवासीसँग फोहर व्यवस्थापनका लागि शुल्क लिने अधिकृत घिमिरेले जानकारी दिनुभयो ।

नगरपालिकाले कम्पनीसँग पाँच वर्षका लागि फोहर व्यवस्थापन गर्ने गरी सम्झौता गरेको उहाँले बताउनुभयो । “नगरवासीसँग फोहर सङ्कलनवापतको शुल्क उठाउन प्रालिलाई नगरपालिकाले रसिद प्रमाणित गरिदिन्छ”, अधिकृत घिमिरेले भन्नुभयो, “त्यही रसिदमार्फत भुक्तानी लिने र सङ्कलन भएको रकमको २० प्रतिशत प्रत्येक चौमासिकमा नगरपालिकामा बुझाउनुपर्ने गरी सम्झौता भएको छ ।”

कम्पनीले फोहर व्यवस्थापनका काम सुरु गरेसँगै नगर क्षेत्रलाई सरसफाइमा नेपालको उत्कृष्ट बनाउन प्रतिबद्ध रहेको जनाएको छ । कम्पनीले आफ्नो घरबाट निस्कने फोहरलाई कुहिने र नकुहिने छुट्याइ कर्मचारीलाई सहयोग गरिदिन पनि नगरवासीलाई अनुरोध गरेको छ । फोहर व्यवस्थापन शुल्कवापत नगरवासीले सदस्यता शुल्क रु २०० तिर्नुपर्ने र निजी तथा व्यक्तिगत प्रयोजनको घर÷प्रतिपरिवार मासिक रु १००, चिया पसल फुटपाथ पसलले रु १५०, व्यावसायिक पसल प्रत्येक सटर, वित्तीय सङ्घसंस्थाले रु २००, रेष्टुरेन्ट, मासु, तरकारी, फलफूल पसल, सैलुन, ब्यूटीपार्लरले रु ३०० शुल्क बुझाउनुपर्ने जनाएको छ ।

यसबाहेक मोटरसाइकल ग्यारेज, लजसहितको सामान्य होटल, क्लिनिकको समान्य फोहर भएकाहरुले मासिक रु ५००, गाडी ग्यारेज, लजसहितका ठूला होटलले मासिक रु एक हजार र हस्पिटल, नर्सिङहोमले मासिक रु दुई हजार शुल्क बुझाउनुपर्ने उल्लेख छ । घरबाट निस्कने कवाडी सामग्रीसमेत उचित मूल्य दिएर कम्पनीले खरिद गर्ने भएकाले बाहिरबाट आउने व्यक्तिलाई बिक्री वितरण नगर्नसमेत आग्रह गरेको छ । यसअघि नगरपालिका आफैँले नगर क्षेत्रभित्रको फोहर व्यवस्थापन गर्दै आएको थियो ।रासस