१३ बैशाख २०८१, बिहीबार

सालीको घरबाट एक बोट केरा ल्याएपछि…..

128647309 401160861034404 7083274629666905549 n

स्याङ्जा । उमेरले ६२ वर्ष पुग्नुभएका गल्याङका लेखनाथ भट्टराईको जोस जाँगर र ऊर्जाले गर्दा उहाँको खेतभरि हरिया केराघारी छन् । गल्याङ नगरपालिका–११ शिखरडाँडाका भट्टराईलाई सालीको घरबाट ल्याएको एउटा केराको बोटले केराखेतीमा आकर्षित गर्‍यो । आजभन्दा झण्डै ३० वर्ष पहिले उहाँले सालीको घरबाट एउटा केराको बोट ल्याउनुभएको थियो ।

त्यही एउटा केराको बोटबाट ५०० बोट पुगे त्यतिबेला व्यावसायिक रुपमा केरा खेती नगरे पनि राम्रै उत्पादन भएकाले उहाँले केराखेती रोज्नुभएको हो । ११ रोपनी धान फल्ने खेतमा केरा खेती गर्नुभएका भट्टराईले आवश्यक पर्दा खेताला खोजेपनि अरुबेला आफैँले केरा बगानको हेरचाह गर्दै आउनुभएको छ । धान, मकै खेती भन्दा केराबाटै राम्रो आम्दानी हुने भएपछि आफूले केराखेतीमा आकर्षित भएको भट्टराई बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, ‘ केराखेतीबाट छिटो आम्दानी लिन सकिन्छ । बिरुवा लगाएको १८ महिनापछि उत्पादन दिन थाल्छ । केराकै गाँजबाट अन्य बिरुवा उम्रने, अर्काले उत्पादन दिइरहने भएकाले १८ महिनापछि बाह्रैमासे फल दिन थाल्छ ।’

गल्याङ– ११ दिमिकस्थित आफ्नै खेतमा परीक्षणका लागि लगाएको थप केराका बोटबाट राम्रैसँग उत्पादन दिन थालेकाले उहाँले ८ वर्षअघि ‘आनन्द कृषि तथा पशुपालन फर्म’ दर्ता गरेर व्यावसायिक रुपमा अगाडि बढ्नुभएको हो । जग्गा जमिन भएर पनि सही सदुपयोग गर्न नसकिरहेका बेला त्यो एउटै बोटको केराले आफूलाई व्यवसायी बन्ने प्रेरणा मिलेको उहाँले बताउनुभयो ।

अहिले सानाठुला गरी उहाँको केरा बगानमा १२ सय भन्दा बढी केराका बोटहरू छन् । बजारीकरणको समस्या नभएकाले उहाँलाई केराखेतीले उत्साहित बनाएको छ । घरबाटै केरा बिक्री भइरहेकाले बिक्री वितरणमा अहिलेसम्म कुनै बाधा नभएको उहाँको भनाई छ ।

पोहोर साल राम्रै बिक्री भए पनि अहिले बाहिरबाट आउने केराले बिक्रीमा केही समस्या पारेको उहाँले बताउनुभयो । वार्षिक रुपमा ६ लाखको कारोबार गर्दै आउनुभएका भट्टराईले मुनाफा पनि सन्तोषजनक नै रहेको बताउनुभयो ।

मकै धानलाई जस्तो सिजनका बेला खेताला नपाउने समस्या नभएकाले केरालाई आँफूअनुकुल व्यवस्थापन गर्न सकिने उहाँले बताउनुभयो । केरालाई गाई भैँसीको आर्गानीक मल र पानीको पनि आवश्यकता पर्छ । केराको बोट वरिपरि गाई भैँसीको मलखाद बनाएर सिँचाइ गरेपछि राम्रो फल दिने उहाँले बताउनुभयो ।

भट्टराईको फर्मअन्तर्गत अहिले ‘झापाली मालभोग’ ‘विलियम हाईब्रेड’ र ‘जी नाईन’ जातका पन्ध्र सयभन्दा बढी केराका बोट छन् । व्यावसायिक हिसाबले ठूलो मात्रामा केराखेती गर्नुभएका उहाँको फर्ममा केरा खेतीका बारेमा चासो दिनेहरू अध्ययन अवलोकनका लागि आउने गरेका छन् । वास्तविक किसान खेतबारीमै व्यस्त हुँने भएकाले अनुदानका लागी पटक पटक धाउन नसक्ने हुँनाले स्थलगत अनुगमन गरी वास्तविक किसानलाई सहयोग गर्ने हो भने किसानहरू व्यावसायिकतामा आकर्षित हुँने उहाँको बुझाई छ ।