१३ बैशाख २०८१, बिहीबार

गोरखामा ‘स्क्रब टाइफस’का कारण एक जनाको निधन

Scrob taifas

पशुमा लाग्ने किर्नाबाट सर्ने स्क्रब टाइफसका कारण गोरखामा एक जनाको निधन भएको छ । भीमसेन थापा गाउँपालिका-६ थापाटारका ६७ वर्षीय पुरुषको निधन भएको हो ।

उहाँकाे चितवन मेडिकल कलेजमा उपचारकै क्रममा निधन भएको भीमसेन थापा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले जानकारी दिनुभयाे ।

अचानक ज्वरो बढेपछि उहाँलाई गोरखा अस्पताल लगिएको थियो । गोरखा अस्पतालले उपचार गर्न नसक्ने जानकारी दिएपछि भरतपुर रिफर गरिएको थियो । अस्पताल लगेको २४ घण्टा नपुग्दै उनको निधन भएको हाे । उहाँकाे स्क्रव टाइफसकै कारण निधन भएको शाखा प्रमुख खनालले पुष्टि गर्नुभयाे ।

‘केही दिनदेखि बिरामी हुनुहुन्थ्यो भन्ने परिवारलाई सोधेर थाहा भयो । उहाँको गोरखा अस्पतालले सिएमसीमा रिफर गरेको र त्यहाँ परीक्षणका क्रममा टाईफस पुष्टि भएको जानकारी पाएका छौं’, उहाँले भन्नुभयाे ‘पालिकाका अरु वडाहरूमा कसैलाई स्क्रव टाइफस छैन । मान्छेको निधन नै भयो भनेपछि हामी तातेका छौं । स्वास्थ्यकर्मी खटाएर शंका लागेका व्यक्तिहरूलाई परीक्षण गर्छौं ।’

गण्डकी प्रदेशको गोरखा र म्याग्दी यो रोगको हटस्पट थियो । यसअघि आरुघाट गाउँपालिकामा ३५ जनालाई स्क्रव टाईफस पुष्टि भएको थियो । अन्य पालिकामा पनि अलिअलि देखिएका छन् । यद्यपि, अहिले जिल्लाका अन्य पालिकामा पनि यो रोग खासै छैन । स्क्रव टाइफसका कारण मृत्यु हुने गोरखामा यो नै पहिलो घटना हो । पहिलो पटक बिरामीको निधन भएपछि अन्य पालिकाहरुले सचेतना बढाएका छन् ।

    सम्बन्धित समाचार...