१६ चैत्र २०८०, शुक्रबार

पाइलटदेखि मुख्यमन्त्रीसम्म

jeewan B shahi

मान्यजनले डाक्टर, इन्जिनियर र पाइलट बनोस् भनेर आशीर्वाद दिने चलन नेपाली समाज अहिले पनि छ । यसैबीच, कर्णाली प्रदेशले यस्तै आशीर्वाद पाएर विमान पाइलट भएर विमान उडाउने जिम्मा लिइसक्नुभएका व्यक्ति मुख्यमन्त्री हुनुभएको छ । विमानमा उडाउन भर्दै आउनुभएका जीवनबहादुर शाहीलाई कर्णाली प्रदेशको जिम्मा थप भएको छ ।

दुर्गममा जन्मेर विदेशमा पाइलट अध्ययन र अनुभव भएका मुख्यमन्त्री शाहीको स्थायी घर साविकको खार्पुनाथ गाउँ विकास समितिको वडा नम्बर ५ को खर्पेलगाउँ हो ।

वि.सं. २०१९ सालको फागुन १९ गते साविकको छिप्रा गाउँमा रहेको मावलीघरमा बुवा मानबहादुर शाही र आमा देलकली शाहीको पुत्रको रुपमा उहाँको जन्म भएको हो ।

प्रारम्भिक शिक्षा जन्मेको गाउँ र सिमकोटमा लिनुभएका उहाँले केही समयपछि काठमाडौंको बुढानीलकण्ढ स्कुलमा शिक्षा आर्जन गर्नुभएको थियो । काठमाडौं अध्ययनका क्रममा उहाँले कराँतेमा व्ल्याक बेल्ट, तत्कालीन युवराज दीपेन्द्रको मार्शल आर्टको गुरु, जिम्नास्टिक र भलिबलमा पनि उहाँको सीप छ ।

विद्यालय तहको अध्ययनपछि पाइलट अध्ययनका लागि उहाँ अमेरिका हानिनुभएको हो । पाइलटको कोर्ष पूरा गरेर केही समय अनुभव बटुलेपछि २०४६ सालपछि नेपाली काँग्रेस हुम्लाको राजनीतिमा होमिनुभएको हो । राजनीतिले खासै महत्व नपाएको हुम्लामा उहाँ नेपाली काँग्रेसको संस्थापक सभापति पनि बन्नुभयो । तत्कालीन अवस्थामा हुम्लामा ‘नेपाली काँग्रेस–वाममोर्चा’ साइनबोर्डसहित पार्टी कार्यालय स्थापना गर्नुभएको थियो ।

२०४६ सालदेखि २०६२ सालसम्म उहाँ नेपाली काँग्रेस हुम्लाको पार्टी सभापति निरन्तर रहनुभयो । २०४९ सालको स्थानीय निर्वाचनमा जिल्ला विकास समितिको सभापतिमा पराजित शाही २०५५ सालमा भएको स्थानीय निर्वाचनबाट सभापतिमा निर्वाचित हुनुभयो । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा नेकपा माओवादीका उम्मेरदवारसँग पराजित हुनुभएको थियो ।

सिमकोट हिल्सा सडकका परिकल्पनाकारका रुपमा जिल्लामा परिचय बनाउनुभएको उहाँले २०५५ सालमा जिल्ला विकास समितिको सीमित साधन र स्राेतबाट सडक निर्माणको सुरुवात गरिएको बताउनुभयो । सोही अवधिबाट हुम्लामा एक घर एक शौचालयको अवधारणा पनि उहाँले ल्याउनुभएको थियो । २०६९ सालसम्म उहाँले हिल्सा सडकको निर्माण कार्यमा आफैँ जुटेर पाँच महिनासम्म डोजर सञ्चालन गरेर सडक निर्माण कार्यमा खटिँदाको अनुभव सुनाउँदै उहाँले त्यतिबेला धेरैबाट धेरै कुरा सुन्नुपरेको बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएको उहाँले दोस्रो संविधानसभामा हुम्ला जिल्लाबाट निर्वाचित हुनु भएपछि मुख्यमन्त्री शाही संसदमा सबैभन्दा धेरै दिन उपस्थित हुने सभासदको रुपमा देखा पर्नुभयो । २०७३ सालमा देशको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र खानेपानी मन्त्री हुन सफल हुनुभयो । २०७४ सालको निर्वाचनमा हुम्ला जिल्लाको ख नम्बर क्षेत्रबाट उहाँ निर्वाचित हुनुभएको हो ।