१३ बैशाख २०८१, बिहीबार

चितवनमा प्रचण्डले लगाएको आरोपको ओलीद्वारा खण्डन: मलाई करोडौंको भाँडाकुँडा चाहिँदैन

kp oli
फाइल फोटो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा करोडौंको बिलासिताका सामान खरिद गरेको आरोपको खण्डन गरेका छन् ।

सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार चितवनमा आयोजित कार्यक्रममा ओली प्रधानमन्त्री हुँदा करोडौंको सामान खरिद भएको बताएका थिए । उनले भनेका थिए, ‘बालुवाटारमा प्रधानमन्त्री निवास दरबारजस्तो बन्दैछ । हामीलाई त अहिले थाहा भयो केपी ओलीले त त्यो दरबार जिन्दगी भरि छोड्नु पर्दैन भनेर थाइल्याण्ड, इटलीबाट महँगो सामान ल्याएर राखेका रहेछन् ।’

तर, एमाले अध्यक्ष ओलीले त्यसको खण्डन गरे । आज सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले यो विरोधीहरुले लगाएको आरोप मात्र भएको बताए ।

‘प्रचण्डले चितवन गएर के भनेछन् भने मलाई डेढ लाखको खाटमा सुत्यो भनेर उडाउँथे । केपी ओलीले करोडौंको किनेका रहेछन्,’ ओलीले भने, ‘मेरो भान्सामा त भाँडाकुँडा पनि आफ्नै हुन्थे । आफ्नै घरबाट लगेको हुन्थे, के को किन्नु ?’

अघि भने, ‘प्रधानमन्त्रीको निवासमा सेना बस्छ, सेनाले खानु पर्यो होला, खान पकाउनु पर्यो होला । त्यहाँ ग्यास खर्च भयो होला । मेरो श्रीमतीले पकाएको यति (हातले थोरै संकेत गर्दै) खाना खाएर बस्छु म । अनि करोडौंको भाँडाकुँडा चाहिँ के गर्नु ?’

एउटा रोटी र दुई गाँस भात खाएर बस्ने आफूलाई करोडौंको भाँडाकुँडा नचाहिने ओलीको तर्क छ ।