११ बैशाख २०८१, मंगलवार

राम्रो काम गर्दा घेराबन्दी गर्न खोजियोः मेयर दाहाल

Renu dahal

भरतपुर महानगरपालिकाकी मेयर एवंम नेकपा (माओवादी केन्द्र) भरतपुर महानगर इन्चार्ज रेनु दाहालले राम्रो काम गरेकै कारण घेराबन्दीमा पार्न खोजिएको बताएकी छन् ।

नेकपा (माओवादी केन्द्र) भरतपुर महानगर समितिले आज (शुक्रबार) विहान गरेको शुभकामना आदान–प्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले भरतपुरको विकास देखेरै नै कतिपय आत्तिएकाले अहिले घेराबन्दी पार्न खोजिएको आरोप लगाइन् । ‘स्थानीय चुनाव भएदेखि हामी धेरै राम्रो काम गरेका छौं, हाम्रो काम गरेरै केही मान्छेहरु अत्तालिएका छन्’–मेयर दाहालले भनिन् ।

उनले स्थानीय निर्वाचनदेखि यहाँसम्म आइपुग्दा आफूहरुको काम गराईले शिर निहुराउने अवस्था नरहेको बताइन् । ‘महानगरमा कसैले पनि औला ठड्याउन सक्ने अवस्था छैन, विरोधीले समेत विरोध गर्ने ठाउँ छैन’–मेयर दाहालले भनिन् ।

उनले निर्वाचनमा जनाएको प्रतिवद्धता पुरा गरेको दावी गर्दै सबै योजनाहरुलाई कार्यान्वयको चरणमा बताइन् । उनले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन क्षेत्रमा विकासका लागि आफू लागि परेको भन्दै महानगरले उत्कृष्ट कार्य गर्दै आइरहेको बताइन् ।

मेयर दाहालले महानगरले गरेको कामको अपनत्व र सम्पत्तिको रुपमा पार्टीले ग्रहण गर्नुपर्ने बताइन् । ‘हामीले धेरै राम्रो काम गरेका छौं, महानगरको कामलाई पार्टीले सम्पत्तिको रुपमा लिनुपर्छ’–मेयर दाहालले भनिन् ।

मेयर दाहालले राम्रो काम गरेकै कारण केहीले आफूहरुलाई लखेट्ने कुरा गरिरहेको बताइन् । मेयर दाहालले भनिन्–‘कसैले गर्न नसकेका कामहरु हामीले चार वर्षमा गरेका छौं, केही साथीहरु अत्तालिएका छन् ।’

मेयर दाहालले विगतका वर्षहरुमा जनताबाट अमूल्य मत ल्याएर जित्ने तर पदमा पुगेर सिन्को समेत नभाच्नेहरु नै विरोधमा उत्रिएको बताइन् । ‘जनताको मन जितेर, विश्वासमा रहेर, स्वार्थ नराखेर रातदिन नभनी खट्दा लखेट्ने कुराहरु भइराखेका छन्’ मेयर दाहालले भनिन् ‘हाम्रो लागि जनता र देश भन्दा अरु केही होइन ।’

उनले विगतमा महानगर क्षेत्रका बस्तीहरुमा खासै विकास नभएको भन्दै अहिले सबै गाउँ–गाउँमा पीच सडक बनाएर विकासको मुल फुटाएको बताइन् ।