८ बैशाख २०८१, शनिबार

मुद्दाको सुनुवाइ हुन सकेन सर्वोच्चमा

Supreme Court 43KnAVGEAY

प्रधानन्यायाधीशको राजीनामा माग्दै सर्वोच्च अदालतका न्यायाधीशहरुले अघोषित रुपमा इजलास बहिस्कार गरेको कारण आज पनि सर्वोच्चमा मुद्दाको सुनुवाइ हुन सकेन ।

प्रधानन्यायाधीश जबराले आजका लागि ८ इजलास गठन गरी १ सय ७२ वटा मुद्दाको पेशी तोक्नुभएको थियो ।

प्रधानन्यायाधीशसँग असन्तुष्ट सर्वोच्चका अन्य सबै न्यायाधीश इजलासमा नबसेपछि चार दिन यता बन्दी प्रत्यक्षीकरण लगायतका कुनै पनि मुद्दामा सुनुवाइ हुन सकेको छैन ।

यस्तै, आज सर्वोच्च अदालतका १५ न्यायाधीशविरुद्ध सर्वोच्चमा रिट पुगेको छ ।

न्यायाधीशहरू इजलासमा सहभागी नहुँदा न्याय प्रभावित भएको भन्दै न्यायमा असर पर्ने गरी कार्य नगर्न/नगराउन माग गर्दै तीन वटा रिट सर्वोच्चमा पुगेको हो ।

अधिवक्ता स्वागत नेपाल, कृष्ण प्रसाईँ लगायतको सो रिट दर्ता प्रक्रियाका लागि अध्ययनमा रहेको प्रवक्ता बाबुराम दाहाले जानकारी दिनुभयो ।

यता, प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसिएसनले ५ दिने अल्टिमेटमसहित दबाबमूलक कार्यक्रम घोषणा गरेको छ ।

नेपाल बारको आज बसेको बैठकले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आइतबारदेखि कालोपट्टी बाँधेर धर्नामा बस्ने जनाएको हो ।

बारले आइतबारदेखि ४ दिन सर्वोच्च अदालतमा कालोपट्टी बाँधेर धर्नामा बस्ने निर्णय गरेको अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिनुभयो ।

अदालतमा विकृति, विसङ्गति र भ्रष्टाचार रोक्न नसकेको, न्यायपालिकाको गरिमा कायम गर्न नसकेको भन्दै राजीनामा माग्दै आएको बारले सर्वोच्चको इजलासमा बसेर आदेश वा फैसला नगर्न माग समेत गरेको छ ।

प्रधानन्यायाधीश जबराले बुधवारसम्म पनि राजीनामा नदिए बारले थप आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गर्दै जाने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मन्त्रिपरिषद् विस्तारलगायतका भाग खोजेको भन्ने विषयमा सर्वोच्च अदालतमा केही समयदेखि विवाद चर्कँदै गएको छ ।