१२ बैशाख २०८१, बुधबार

प्रत्येक स्थानीय तहका एक/एक जनालाई निःशुल्क शिक्षा

bagmaticabinet1635474565

बागमती प्रदेश सरकारले प्रदेशका ११९ स्थानीय तहबाट एक–एक जनालाई निःशुल्क प्राविधिक शिक्षाको व्यवस्था गर्ने भएको छ ।

मुख्यमन्त्रीमा राजेन्द्रप्रसाद पाण्डे नियुक्त भएपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकले ११९ जना विद्यार्थीलाई तीन वर्षे प्राविधिक शिक्षा सरकारको सहयोगमा उपलब्ध गराउनेदिने निर्णय गरेको हो ।

प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले विपन्न परिवारका अल्पसङ्ख्यक, सिमान्तकृत र दलित समुदायकामध्येबाट छनोट गरी तीन वर्षसम्म प्रदेश सरकारको सहयोगमा अध्ययनको व्यवस्था गरिने जानकारी दिनुभयो ।

यसरी अध्ययनको सुविधा पाएका विद्यार्थीले पाँच वर्षसम्म आफ्नो पालिका क्षेत्रमा बसेर काम गर्नुपर्ने गरी कार्यविधि बनाइने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बागमती प्रदेश संसदीय दलका नेता पाण्डेलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

मुख्यमन्त्री पाण्डेको सिफारिशमा गठबन्धनका दलका कृष्णप्रसाद शर्मा खनाल, कुमारी मुक्तान र कृष्णलाल भडेललाई प्रदेश प्रमुख शर्माले मन्त्रीमा नियुक्तिसँगै प्रदेश प्रमुखको कार्यालय परिसरमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख शर्माले पद तथा गोपनियताको सपथग्रहण गराउनुभएको थियो ।

मन्त्रिपरिषद्को गठन र कार्यविभाजनअनुसार खनालले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, मुक्तानलाई सामाजिक विकास मन्त्रालय र भडेलले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

सपथ ग्रहणसँगै मुख्यमन्त्री र मन्त्रीहरुले बिहीबार साँझ नै पदभार ग्रहण गर्नुभएको छ ।
प्रदेश सभामा एमाले अल्पमतमा परेपछि एमाले उपाध्यक्षसमेत रहनुभएकी अष्टलक्ष्मी शाक्यले बुधबार मुख्यमन्त्रीबाट राजीनामा दिनुभएको थियो ।