१६ चैत्र २०८०, शुक्रबार

नेपाल तजिकिस्तानसँग पराजित

footbal 23

एएफसी यू–२३ एसियन कप छनोटअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपाली राष्ट्रिय यू–२३ फुटबल टोली ताजिकिस्तानसँग पराजित भएको छ ।

तजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा भएको खेलमा नेपाल घरेलु टोली ताजिकिस्तानसँग ६–० गोल अन्तरले पराजित भएको हो । यस हारसँगै नेपालको एसियन कपमा छनोट हुने सम्भावना समाप्त भएको छ ।

नेपालले खेलको पहिलो हाफमा तीन गोल खायो भने दोस्रो हाफमा पनि तीन गोल नै बेहो-यो । पहिलो हाफमा ताजिकिस्तानका शेर्भोनी मावत्शोएभ, शारफजोन सोलेहोभ र रुस्तम सोइरोभले एक–एक गोल गरे ।

खेलको २४औँ मिनेटमा शेर्भोनीले गोल गर्दै ताजिकिस्तानलाई सुरुआती अग्रता दिलाए भने खेलको ३३औँ मिनेटमा सोलेहोभले गोल गर्दा ताजिकिस्तान २–० ले अघि रह्यो । त्यस्तै खेलको ४१औँ मिनेटमा रुस्तमले गोल गरेपछि घरेलु टोली ताजिकिस्तान पहिलो हाफमा ३–० ले अघि रह्यो ।

खेलको ६३औँ मिनेटमा मुखम्मादली अजिजबोएभले गोल गर्दा घरेलु टोली ४–० ले अघि रह्यो । खेलेको ६८औँ मिनेटमा भाख्दुत खानोनोभले पेनाल्टीमा गोल गर्दै टोलीको अग्रता ५–० बनाए ।

त्यसपछि खेलको ७२औँ मिनेटमा इमोमाली अखामादखोनले गोल गर्दै ताजिकिस्तानलाई ६–० गोलको जीत दिलाए । छनोटको समूह बी मा रहेको नेपाल पहिलो खेलमा इरानसँग ४–० गोल अन्तरले पराजित भएको थियो । यता ताजिकिस्तानको भने यो लगातार दोस्रो जीत हो । यसअघि भएको पहिलो खेलमा ताजिकिस्तानले लेबनानलाई हराएको थियो ।अब नेपालले आफ्नो अन्तिम खेल आइतबार लेबनानसँग खेल्नेछ ।

समूहको शीर्ष टोलीले एएफसी यू–२३ एसियन कप खेल्नेछ । यस्तै दोस्रो टोलीमध्ये उत्कृष्ट चार टोली पनि यू–२३ एसियन कपमा छनोट हुनेछन् । उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता सन् २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ ।

    सम्बन्धित समाचार...