१३ बैशाख २०८१, बिहीबार

भोलिबाट दिनभर खाद्यान्न पसल खुल्ने

khadyanna pasal

सरकारले बुधबारबाट दिनभर खाद्यान्न पसल सञ्चालन गर्न दिने भएको छ । आवश्यक खाद्यवस्तु बिक्री गर्ने पसलहरु निर्वाध रुपमा संचालन गर्न आग्रह गरेको छ।

यसअघि बिहान र बेलुका मात्र पसल खोल्न दिँदा भिड बढेपछि दिनभर पसल खोल्न दिइने भएको हो ।

लकडाउनको पहिलो दिन कतिपय आवश्यक खाद्यवस्तु बिक्री हुने पसलहरु समेत बन्द देखिएपछि गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसंचार, भन्सार, फोहोरमैला व्यवस्थापन लगायत कारोबार गर्ने पसलहरु बन्द नहुने स्पष्ट पारेको छ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले गरेको निर्णयमा खाद्यान्नसम्बन्धी सामग्री कुन समयमा बिक्री गर्न पाइने भन्ने विषयमा व्याख्या गरिएको थिएन । जसकारण सर्वसाधारण र पसल सञ्चालकमा अन्यौलता सिर्जना भएको थियो ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेलले भने, ‘अत्याश्वक खाद्य वस्तु राखिएका पसल बुधबारबाट दिउँसो पनि खोल्न भनेका छौं ।’ यस्ता व्यवसाय सदाझैं निर्वाध रुपमा सञ्चालन गर्न उसले अनुरोध समेत गरेको छ।

सहप्रवक्ता केदारनाथ शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘पहिलो दिन भएकाले आवश्यक वस्तु र सेवा संचालन गर्ने निकायहरु फाट्टफुट्ट बन्द भएका पनि देखिएका छन्।’

नेपाल–भारत सीमामा अलपत्र परेकालाई प्रवेश दिइएको गृहले जनाएको छ। विज्ञप्तिमा लकडाउनको व्यवस्थालाई कार्यान्वयन गर्न आम नागरिकलाई आग्रह गरिएको छ।

Press Release