७ बैशाख २०८१, शुक्रबार

को हुन नवनियुक्त तेस्रो मुख्यमन्त्री पाण्डे ?

Rajandra Pande 2

बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा (एकीकृत) समाजवादीका प्रदेश संसदीय दलका नेता राजेन्द्रप्रसाद पाण्डे नियुक्त हुनुभएको छ । पाण्डे नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस तथा नेकपा एकीकृत समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्री बन्नुभएको हो ।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था अनुसार प्रदेश प्रमुख शर्माले पाण्डेलाई आज मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । एमालेका तर्फबाट धादिङ क्षेत्र १ (क) बाट विजयी पाण्डे एमाले विभाजनपछि नेकपा (एकीकृत समाजवादी) को बागमती प्रदेश संसदीय दलको नेता हुनुहुन्छ । उहाँ बागमती प्रदेशको तेस्रो मुख्यमन्त्री बन्नुभएको हो ।

बागमती प्रदेशमा सत्तारुढ नेकपा (एमाले) विभाजन भएर १३ सांसदले नवगठित नेकपा (एकीकृत समाजवादी) रोजेपछि अल्पमतमा पर्नुभएकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधवार पदबाट राजीनामा दिनु भएको थियो । हिजो बुधवार यसअघिकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीको बागमती प्रदेशका संसदीय दलका नेता पाण्डेलाई प्रदेश प्रमुख शर्माले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

मुख्यमन्त्री पाण्डेले आजै प्रदेश प्रमुख समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेर पदभार समेत सम्हाल्नुका साथै आजै सानो आकारको तीन सदस्यीय मन्त्रिपरिषद् समेत गठन गर्नुभएको छ ।

गठबन्धन दलहरूबीच भएको सहमतिअनुसार माओवादी केन्द्रका उपनेता कुमारी मोक्तान, कांग्रेस उपनेता कृष्णलाल भँडेल र नेकपा एकीकृत समाजवादीका उपनेता कृष्ण खनालले मन्त्रीको शपथ लिनुभएको छ । नवनियुक्त मन्त्रीहरूले पनि आजै प्रदेश प्रमुख कार्यालयमा आयोजित विशेष समारोहबीच मुख्यमन्त्री पाण्डेसँगै शपथग्रहण गर्नुभएको छ । मुख्यमन्त्री पाण्डेको सिफारिसमा भँडेललाई भौतिक पूर्वाधार, मोक्तानलाई सामाजिक विकास र खनाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

pande 1024x682 1

को हुन नवनियुक्त मुख्यमन्त्री पाण्डे ?

धादिङ क्षेत्र १ (१) बाट एमालेका तर्फबाट निर्वाचित पाण्डे पार्टी विभाजनपछि नेकपा (एकीकृत समाजवादी) को संसदीय दलका नेता हुनुभएको हो । २०१३ साल जेठ २९ मा गजुरीमा जन्मिनुभएका उहाँले ग्रामीण विकासमा स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएको छ । विद्यार्थी आन्दोलनबाट राजनीतिमा संलग्न हुनुभएका उहाँ सुरुमा शिक्षण पेसामा आबद्ध हुनुहुन्थ्यो । ‘शिक्षणभन्दा राजनीतिबाट समाज परिवर्तन गर्नुपर्छ भनेर पूर्णकालीन राजनीतिमा लागेको हुँ,’ उहाँले भन्नुभयो ।

पाण्डे नेकपा मालेको सहसचिव हुँदै २०४३ मा जिल्ला पञ्चायत सभापति हुनुभएको थियो  । २०५० सालमा नेकपा एमालेको अञ्चल सचिव र २०५५ मा केन्द्रीय सदस्य हुनुभएका उहाँ धादिङमा नेकपा एमालेका तर्फबाट २०४८, २०५१, २०५६ र २०७० को संसदीय निर्वाचनमा विजयी भएर स्थानीय विकास मन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएको छ । उहाँ अहिले नेकपा (एस) को केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ ।

२०३२ सालमा सरस्वती क्याम्पसको नेतृत्व गरेर आन्दोलनमा हिँड्ने क्रममा जेल पर्दा उहाँको भेट झापाली राजबन्दीसँग भएको थियो  । त्यसपछि झापा आन्दोलनलाई समर्थन गर्दै उहाँ सक्रिय राजनीतिमा लाग्नुभएको थियो । २०३३ वैशाखमा राष्ट्र विप्लवको मुद्दामा उहाँलाई १० वर्ष जेल र १० हजार जरिवाना तोकिएको थियो  ।

जेल बस्ने क्रममा उहाँ २०३३ सालमा केन्द्रीय कारागारमा पार्टीको जेल कमिटीको सदस्य हुनुभएको थियो । त्यति बेला उहाँ ४२ दिन जेल बस्नुभएको थियो । पाण्डेले २०५० वैशाख २० देखि नेपालगन्जमा सम्पन्न छैटौँ महाधिवेशनबाट अञ्चल सचिवको जिम्मेवारी सम्हाल्नु भएको थियो । उहाँले २०३६, २०३८ र २०४२ सालमा सम्पन्न शिक्षक आन्दोलनको नेतृत्वसमेत गर्नुभएको थियो ।

mantri 1024x682 1