१५ चैत्र २०८०, बिहीबार

मिति परिमार्जन गर्दै आगामी मंसिर २७ देखि २९ सम्म कांग्रेस महाधिवेशन गर्ने प्रस्ताव

Congress

नेपाली काँग्रेसले पार्टीको १४औँ महाधिवेशनको मिति परिमार्जन गर्दै आगामी मङ्सिर २७ देखि २९ गतेसम्म गर्ने गरी नयाँ कार्यतालिका प्रस्ताव गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिको बुधबार बसेको बैठकले महाधिवेशनको नयाँ मितिसँगै निर्धारित समयमा हुन नसकेको बाँकी अधिवेशनको कार्यतालिका पनि तय गरेको समिति संयोजक महादेवप्रसाद यादवले जानकारी दिनुभयो ।

नयाँ तालिकाअनुसार हालसम्म वडा अधिवेशन प्रारम्भ हुन नसकेका १३ जिल्लाको अधिवेशन यही कात्तिक २७ गतेदेखि प्रारम्भ गर्ने तय गरिएको छ । यसै गरी जिल्ला अधिवेशन हुन बाँकी जिल्लाको अधिवेशन मङ्सिर १० गते तथा प्रदेश अधिवेशन मङ्सिर १६ र १७ गते गर्ने तय गरिएको उहाँले बताउनुभयो ।

काँग्रेसले यसअघि महाधिवेशन मिति मङ्सिर ९ देखि १३ गतेसम्म निर्धारण गरिएको थियो । पार्टीले गत भदौ १८ गतेदेखि वडा अधिवेशन प्रारम्भ गरेको भने हालसम्म १३ हिमाली जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरिसकेको छ ।

यसबाहेक ४७ जिल्लामा पालिका स्तरको अधिवेशन सम्पन्न भइसकेको र बाँकी चार जिल्लामा वडा अधिवेशन सम्पन्न भई केहीबाहेक पालिका स्तरको अधिवेशन सम्पन्न भएको संयोजक यादवले बताउनुभयो ।