८ बैशाख २०८१, शनिबार

भारतमा तीन साता लकडाउनको घोषणा

narendra modi

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा तीन साता लकडाउन गर्ने घोषणा गरेका छन् । मोदीले देशका नाममा सम्बोधन गर्दै मंगलबार मध्यरातदेखि तीन साता भारतमा राष्ट्रिय लकडाउन गर्ने घोषणा गरेका हुन् ।

उनले यसअघि १९ मार्चमा देशवासीका नाममा सम्बोधन गर्दै २२ मार्चमा जनता कर्फ्यु घोषणा गरेका थिए । भारतका केही राज्यहरुले जनता कर्फ्युलाई निरन्तरता दिएका थिए ।

‘देशलाई बचाउनका निम्ति (आज) मंगलबार राति १२ बजेदेखि सम्पूर्ण देशभर लकडाउन सुरु हुँदैछ’, मोदीले भने, ‘घरबाहिर निस्कन पूर्ण रुपमा निषेध हुनेछ।’

लकडाउन मंगलबार राती १२ बजेबाट सुरु हुने समेत उनले घोषणा गरेका हुन्। मंगलबार राती १२ बजे सुरु भएको लकडाउन २१ दिनसम्म जारी रहनेछ।

यसअघि प्रधानमन्त्री मोदीले आइतबार बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म जनता कर्फ्यू घोषणा गरेका थिए। भारतले सीमा नाका बन्द गरेको छ भने अन्तर्राष्ट्रिय उडानसमेत स्थगित गरेको छ।

सम्बोधनका क्रममा मोदीले जनता कर्फ्यू सफल बनाउन सहयोग गरेको भन्दै जनतालाई धन्यवाद समेत दिएका थिए।

प्रधानमन्त्री मोदीले सामाजिक दूरी नै कोरोना भाइरसविरुद्ध लड्ने महत्वपूर्ण हतियार भएको बताए । उनले जनता कर्फ्युको पालनाले भारतीयहरु कोरोनासँग लड्न सक्षम भएको बताए ।

भारतमा कोरोनाबाट ५१९ संक्रमित भएको र १० जनाको मृत्यु भएको छ । त्यसैगरी उपचारपछि ३९ संक्रमितलाई घर पठाइएको भारतीय स्वास्थ्य मन्त्रीले बताएका छन् ।

कोरोना भाइरसबाट संक्रमित व्यक्ति सुरुमा सामान्य देखिने र कुनै पनि लक्षण नदेखाउने भन्दै उनले घरमा बस्न आग्रह गरेका छन्।

‘म हात जोडेर प्रार्थना गर्छु कि यस समय तपाईंहरु जहाँ हुनुहुन्छ, उहीँ बस्नुहोस्’, मोदीको आग्रह छ। मोदीले आफूले प्रधानमन्त्रीको नाताले होइन, परिवारकै सदस्यको नाताले घरभित्र बस्न आग्रह गरेको बताए। ‘घरभित्र रहनुस् र एक काम गर्नुस्- आफ्नै घरमै बस्नुस्’, मोदीले भने।