१२ बैशाख २०८१, बुधबार

विश्वासको मत लिँदै मुख्यमन्त्री शाक्यले, गठबन्धनबाट राजेन्द्र पाण्डे मुख्यमन्त्रीलाई बनाउने तयारी

astalaxmi rajendra

बागमती प्रदेश सरकारकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिँदै छिन् । एकल बहुमतका आधारमा मुख्यमन्त्री नियुक्त भएकी शाक्य आबद्ध पार्टी एमालेबाट विभाजन भई नेकपा (एकीकृत समाजवादी)मा १३ जना सांसद्ले सनाखत गरेपछि उनी अल्पमतमा परेकी हुन् । अहिले शाक्यलाई एमालेका ४३ जना सांसद्को मात्रै समर्थन रहेकाले उनले विश्वासको मत नपाउने देखिएको छ । बुधबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने तयारी भएको छ ।

प्रदेशसभाको नवौं अधिवेशनको चौथो बैठकबाट मुख्यमन्त्री बनेको दुई महिनापछि शाक्यले आज विश्वासको मत लिने लागेकी हुन् । प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार विश्वासको मत लिन आवश्यक पर्ने सबै तयारी पूरा भइसकेको छ । ‘सत्तापक्ष र प्रतिपक्षलाई छुट्टाछुट्टै मतदान कक्षको व्यवस्था मिलाइएको छ । यसका लागि आवश्यक अधिकृतसहितको कर्मचारी खटाइएको छ,’ सचिव खड्काले भने ।

गत २४ असोजको प्रदेशसभाको दोस्रो बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मतका लागि प्रस्ताव पेस गरेकी थिइन् । सो प्रस्तावमाथि प्रदेशसभाको ४ कात्तिकको बैठकमा आफ्नो पक्षमा विश्वासको मत दिन मुख्यमन्त्री शाक्यले आग्रह गरेकी थिइन् । तर शाक्यलाई गठबन्धनमा रहेका दलहरू नेकपा (माओवादी केन्द्र), कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपालले विश्वासको मत नदिई आफ्नै सहभागितामा सरकार बनाउने तयारी गरिसकेका थिए । बरु उनीहरूले मुख्यमन्त्री शाक्यलाई उल्टै राजिनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए ।

दस्तखतसहितको मत विभाजनसम्बन्धी कार्यविधि २०७८ प्रदेश सभाबाट पारित भएपछि मतदान प्रक्रिया अगाडि बढाइने प्रदेशसभा सचिवालयले जनाएको छ । बागमती प्रदेशसभामा एक सय नौ जना सदस्यहरू रहेका छन् । प्रदेश सरकार गठनको लागि ५५ सांसद्को साथ आवश्यक पर्छ । नेकपा एमाले विभाजनपछि १३ जना सांसद्ले एकीकृत समाजवादीमा सनाखत गरेसँगै एमालेमा ४३ सांसद मात्रै छन् ।

यस्तै, प्रमुख प्रतिपक्ष नेकपा माओवादीका २३, अर्को प्रतिपक्ष कांग्रेसको २२, विवेकशील साझा दलको तीन, नेपाल किसान मजदुर पार्टी (नेमकिपा) का दुई जना, राप्रपाका दुई र जनता समाजवादी पार्टी (जसपा)को एक जना प्रदेशसभा सदस्य छन् ।

गठबन्धनले एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउँने तयारी गरेको छ । प्रदेशमा कांग्रेस र एकीकृत समाजवादीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति यसअघि भइसकेको छ । पाण्डेपछि कांग्रेसका इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने सहमति बनेको हो । पाण्डे मुख्यमन्त्री बनेसँगै सम्भव भए आजै चार सदस्यीय मन्त्रीमन्डल गठन गर्ने गठबन्धनको तयारी छ ।