१५ बैशाख २०८१, शनिबार

छिनोफानो आज बागमती प्रदेशका मुख्यमन्त्रीको

Astha Laxmi Shakya

अल्पमतमा पर्नुभएका बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार प्रदेश सभाको बैठकमा विश्वासको मत लिन लाग्नुभएको छ ।
मुख्यमन्त्री बनेको एक सातामा अल्पमतमा पर्नुभएका शाक्यले दुई महिनापछि प्रदेश सभाबाट विश्वासको मत लिन लाग्नुभएको हो ।

मुख्यमन्त्री शाक्य अल्पमतमा परेसँगै गत असोज २४ गते विश्वासको मत प्राप्त गर्न प्रदेश सभाको बैठकमा विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेस गर्नुभएको थियो । प्रस्तावमाथि प्रदेश सभाको गत बिहीबारको बैठकमा मुख्यमन्त्री शाक्यले प्रदेश सभाका सदस्यहरूसँग आफ्नो पक्षमा विश्वासको मत दिन आग्रह गर्नुभएको थियो ।

गठबन्धनका दलहरू नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी)र जनता समाजवादी पार्टी नेपालका नेताहरूले विश्वासको मतको विपक्षमा मतदान गर्ने बताउँदै राजीनामा दिएर मार्ग प्रशस्त गर्न र सहजरूपमा सत्ता हस्तान्तरण गर्न आग्रह गर्नुभएको थियो ।

प्रदेश सभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने भएको छ । सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सभाको बुधबारको बैठकमा विश्वासको मतसम्बन्धी सम्पूर्ण प्रक्रिया अगाडि बढ्ने बताउनुभएको छ । बुधबारको बैठकमा मुख्यमन्त्रीले विश्वासको मतका लागि पेस गर्नुभएको प्रस्तावको पक्षमा प्रदेश सभाका सदस्यहरूले बोल्न चाहेमा समय दिइने भएको छ ।

प्रस्तावको विपक्षमा बोल्नुभएका प्रदेश सभाका सदस्यहरूको प्रश्नको मुख्यमन्त्री शाक्यले जवाफ दिने बताउँदै प्रदेश सभा सचिवालयका प्रवक्ता विनोद अमात्यले दस्तखतसहितको मत विभाजनसम्बन्धी कार्यविधि २०७८ प्रदेश सभाबाट पारित भएपछि मतदान प्रक्रिया अगाडि बढाइने जानकारी दिनुभयो । कार्यविधि तयार गर्न गठित उपसमितिले कार्यविधि सभामुख श्रेष्ठलाई बुझाउन बाँकी छ ।

प्रदेश सभामा सरकार गठनका लागि स्पष्ट बहुमत रहेको नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेतामा गत भदौ २ गते सर्वसम्मतिमा चयन भएसँगै शाक्य मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।