१६ चैत्र २०८०, शुक्रबार

मौलिक संस्कृति भावी पुस्तालाई हस्तान्तरण गरौँ : उपराष्ट्रपति

20211026120610 D3A3162 1 1024x682 1

उपराष्ट्रपति नन्दबहादुर पुनले मौलिक भाषा, कला, संस्कृतिमाथि अतिक्रमण भइरहेकामा चिन्ता व्यक्त गर्दै यसको जगेर्ना गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनुभएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान र लोकवार्ता परिषद् नेपालको सहकार्यमा परिषद्को १०औँ सम्मेलनको आज उद्घाटन गर्दै उहाँले मौलिक संस्कृतिको जगेर्ना र प्रवर्द्धन गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्न आग्रह गर्नुभयो । “मौलिक भाषा, संस्कृति, कलामाथि अतिक्रमण भइरहेको छ । हामी जानी नजानी यो अतिक्रमणमा परिरहेका छौँ । हामी सोचौँ त हाम्रो मौलिक भाषा रहेन भने, हाम्रो कला, संस्कृति रहेन भने हाम्रो पहिचान रहला ?”, उहाँले भन्नुभयो, “भूगोलले मात्रै हाम्रो पहिचान रहन सक्दैन । राष्ट्र भनेको भूगोल मात्रै होइन । मेरो आग्रह छ –हाम्रो मौलिक भाषा, कला, संस्कार, संस्कृति जोगाऔँ । प्रवर्द्धन गरौँ । र, भावी पुस्तालाई हस्तान्तरण गरौँ ।”

लोकवार्तासँग सम्बन्धित सबै क्षेत्रको संरक्षण, संवर्द्धन र विकास गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै उहाँले राज्य उक्त दायित्वबाट पछि हट्न नमिल्ने बताउनुभयो । “यो अभियानमा प्राज्ञिक, बौद्धिक, अनुसन्धानकर्ताका साथै सम्बन्धित क्षेत्रका व्यक्ति र समुदायको साथ र सहयोग रहनुपर्दछ”, उहाँले भन्नुभयो । “लोकवार्तासँग सम्बन्धित थुप्रै क्षेत्रको उत्खनन, अनुसन्धान गर्नुछ । यससँगै हामीले हाम्रो मौलिकता, हामीले गौरव गरिरहेका हाम्रा भाषा, संस्कृति, सम्पदा, कलाको संरक्षण र संवर्द्धन गर्नुपर्नेछ”, उपराष्ट्रपतिले भन्नुभयो, “यी दुई वटा दायित्वलाई हामीले सँगसँगै पूरा गर्नै पर्छ । विश्व जगत समक्ष नेपालको चिनारी बढाउन र भावी सन्ततिलाई हस्तान्तरण गर्नका लागि यसो गर्नु अनिवार्य छ ।”

लोकवार्तासँग सम्बन्धित क्षेत्रको अनुसन्धान, अध्ययन र संरक्षण तथा संवर्द्धनका लागि लोकवार्ता परिषद्ले गरिरहेको काम र नेपाल प्रज्ञा–प्रतिष्ठानले गरिरहेको सहयोगको प्रशंसा गर्दै उपराष्ट्रपतिले यसले नेपालको लोकवार्ताको अनुसन्धान, संरक्षण र प्रवर्द्धनका लागि सहयोग गरेको बताउनुभयो । कार्यक्रममा नेपालको लोकवार्तासँग सम्बन्धित पाँच वटा पुस्तक लोकार्पण गरिएको थियो । रासस