१२ बैशाख २०८१, बुधबार

आईसीसी टी–ट्वेन्टी विश्वकप क्रिकेटमा अफगानिस्तानको विजयी शुरुवात

Afghanistan

आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटमा अफगानिस्तानले विजयी शुरुवात गरेको छ ।

विश्वकप अन्तर्गत समूह दुईको सुपर–टुवेल्भमा अफगानिस्तानले स्कटल्याण्डलाई १ सय ३० रनको विशाल अन्तरले पराजित गरेको हो । १ सय ९१ रनको लक्ष्यसहित मैदान ओर्लेको स्कटल्याण्ड १० दशमलव २ ओभरमा ६० रनमै अलआउट भएको थियो ।

स्कटल्याण्डका जर्ज मुन्सेले २५, क्रिस ग्रेभिसले १२ तथा कप्तान केली कोट्जरले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको रन जोड्न सकेनन् ।

स्कटल्याण्डको इनिंग्स ध्वस्त पार्ने क्रममा अफगानिस्तानका मुजिब उर रहमानले ५ तथा राशिद खानले ४ विकेट लिए ।

यसअघि युएईको शारजाह क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गर्दै अफगानिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९० रन बनाएको थियो । उसका लागि नाजिबुल्लाह जाड्रनले ५९ रनको अर्धशतकीय इनिंग्स खेले ।

त्यस्तै रहमान उल्लाह गुर्बाजले ४६ अनि हज्रत उल्लाह जाजईले ४४ रन बनाए । स्कटल्याण्डका साफ्यन शारिफले २ विकेट हात पारे ।

जितपछि २ अंक जोडेको अफगानिस्तान पाकिस्तानलाई पछि पार्दै यस समूहको शीर्ष स्थानमा पुगेको छ । प्रतियोगितामा आज दक्षिण अफ्रिका र वेष्ट इण्डिज तथा पाकिस्तान र न्यूजिल्याण्डले प्रतिस्पर्धा गर्दैछन् ।

    सम्बन्धित समाचार...