
रौतहट । ठगी गरेको आरोपमा प्रहरीले ६० हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको बौधीमाई नगरपालिका वडा नम्बर १ बस्ने गौरीशंकर साह कलवारको छोरा २४ वर्षीय बिकेश जयसवाल रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।
कोभिड १९ कारण अफ्ट्यारोमा परेका विभिन्न महिलाहरुको लागि मानवीय सहायता स्वरुप युएनडिपीले प्रभु बैंक शाखा कार्यालय गौर मार्फत पठाएको रकम निकाल्न आएका मानिसहरुसँग पैसा असुली गरेको आरोपमा जसवाललाई पक्राउ गरिएको हो ।
सोमबार करिब ४ बजेको समयमा दलित जनजाती उथान केन्द्र कलैया बाराका प्रोग्राम कोडिनेटर बौधीमाई नगरपालिका वडा नम्बर १ बस्ने गौरीशंकर साह कलवारको छोराले तीन तीन हजारका दरले अवैध रुपमा पैसा उठाई ठगी गरी रहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्लाबाट खटिएका प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरिक्षक नारायण प्रसाद चिमरियाले बताउनुभयो ।
प्रहरी टोलीले प्रभु बैंकको गेट अगाडी जयसवाललाई फेला पारी निजको शरीर तथा निजले पिठ्यूमा भिरेको कालो रंगको झोला समेत खानतलासी गर्दा झोला भित्रबाट ठगी गरेको नेपाली नगद रुपैयाँ ६० हजार सात सय फेला पारेको उहाँले बताउनुभयो ।
बरामद भएको रकमसहित निजलाई पक्राउ गरी सम्मानित जिल्ला अदालतबाट म्याद थप लिई अनुसन्धान कार्य भईरहेको रौतहट प्रहरीले जनाएको छ ।