१५ चैत्र २०८०, बिहीबार

आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटमा श्रीलंकाको लगातार दोस्रो जित

shrilanka1634607425

आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटमा श्रीलंकाले लगातार दोस्रो जित निकालेको छ ।

विश्वकप क्रिकेटमा समूह ए को पहिलो चरण अन्तर्गत श्रीलंकाले आयरल्याण्डलाई ७० रनले हराएको हो । १ सय ७२ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड १८ दशमलव ३ ओभरमा १ सय १ रनमा अलआउट भएको हो ।

उसका लागि कप्तान एन्डी बलब्रिनीले ४१ तथा कर्टिस क्याम्फरले २४ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।

आयरल्याण्डलाई कम रनमै समेट्न श्रीलंकाका महिश थिकसानाले ३ तथा लाहिरु कुमारा र चामिका करुनारत्नेले समान २–२ विकेट हात पारे । यसअघि आबुधाबीस्थित जायद क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७१ रन बनाएको थियो ।

श्रीलंकाका वानिन्दु हसरंगा डी सिल्भाले ७१ तथा पाथुम निशान्काले ६१ रनको अर्धशतकीय इनिंग्स खेले । कप्तान डसुन शनका २१ रनमा अविजित रहे । बलिङमा आयरल्याण्डका जोस लिट्टलले ४ विकेट लिए । यस जितसँगै श्रीलंकाले सुपर टुवेल्भमा पुग्ने पहिलो टोली बनेको छ ।

शीर्ष स्थानको श्रीलंकाले २ खेलबाट ४ अंक जोडेको छ । आयरल्याण्ड समान खेलबाट २ अंकसहित दोस्रो स्थानमा छ। श्रीलंकाले पहिलो खेलमा नामिबियालाई ७ विकेटले हराएको थियो ।

प्रतियोगितामा आज समूह बीमा बंगलादेश र पपुवा न्युगिनी तथा ओमान र स्कटल्याण्डले प्रतिस्पर्धा गर्नेछन् ।

    सम्बन्धित समाचार...