११ बैशाख २०८१, मंगलवार

कांग्रेसलाई गुटउपगुटमुक्त पार्टी बनाइन्छः रामचन्द्र पौडेल

Ramchandra Poudel
फाइल फोटो

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४औँ महाधिवेशनपछि नेपाली कांग्रेसमा गुटउपगुटको अन्त्य भएर जाने विश्वास व्यक्त गर्नुभयो । उहाँले गुटउपगुटले कांग्रेस कमजोर भएर जाने भन्दै यसको अन्त्य गरी पार्टी एकजुट भएर अगाडि बढ्ने बताउनुभयो ।

बागलुङस्थित नेपाली कांग्रेस काठेखोला गाउँपालिका–५ बिहँुले आउँदै गरेको शुभदिपावलीलगायत चाडपर्वका अवसरमा आज आयोजित शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा नेता पौडेलले कांग्रेसलाई अब गुटको हिसाबले नभएर सिङ्गो कांग्रेसको हिसाबले हेर्न आम कार्यकर्तालाई आग्रह गर्नुभयो ।

“हामी १४औँ महाधिवेशनमा छौँ, अहिले शेरबहादुर देउवा पक्ष, रामचन्द्र पक्ष भनिए पनि यो गुट हैन”, पौडेलले भन्नुभयो, “महाधिवेशनपछि कांग्रेस झनै सशक्त भएर अगाडि बढ्छ, कांग्रेस अब व्यक्ति हैन पार्टी हो, कसैले शेरबहादुर र रामचन्द्र भनेर ट्याग लगाउन जरुरी छैन ।”

उहाँले मुलुकको संविधानको खेलबाड संविधानको पालकबाटै हुने गरेको भन्दै यस्तो कार्यले कसैलाई फाइदा नगर्ने बताउनुभयो । पौडेलले एकलौटी ढङ्गले सत्ता सञ्चालन गर्न खोज्दा संविधानको मर्मभन्दा बाहिर गएर मुलुकमा अधिनायकतन्त्र ल्याउन खोजेकोसमेत आरोप लगाउनुभएको थियो ।

उहाँले कांग्रेस लोकतन्त्रको रक्षाका लागि उभिने दल भएका कारण कुनै पनि गुटउपगुट बाहिर रहेर लोकतन्त्रका पक्षमा उभिन कार्यकर्तालाई आग्रह गर्नुभएको थियो । उहाँले मध्यपहाडी लोकमार्गअन्तर्गतको बागलुङ खण्डमा कालोपत्रका लागि भइरहेको ढिलाइप्रति आफ्नो ध्यानार्कषण भएको भन्दै यसलाई तत्काल अगाडि बढाउन पहल गर्ने बताउनुभयो ।