११ बैशाख २०८१, मंगलवार

काउनडाउन शुरु बागमती प्रदेशका मूख्यमन्त्री अष्टलक्ष्मी शाक्यको, विहीवार विश्वासको मतको प्रस्तावमा मतदान

Astha Laxmi Shakya

बागमती प्रदेशका मूख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारको ‘काउनडाउन’ शुरु भएको छ ।

आउँदो बिहीबार अर्थात ४ कार्तिकमा बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने कार्यक्रम रहेको छ ।

विश्वासको मत लिने प्रस्ताव गत २४ असोजमा बसेको प्रदेशसभा बैठकमा टेबल भैसकेको छ । तर, सो दिन प्रस्तावमाथि छलफल र मतदान नगरि ४ कार्तिकसम्मका लागि बैठक स्थगित गरिएको थियो ।

बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्य नेकपा एमालेबाट गत २ भदौमा मुख्यमन्त्री बन्नुभएको थियो । एमाले विभाजन भएसँगै मूख्यमन्त्री शाक्य अल्पमतमा पर्नुभएको हो । त्यसैले मुख्यमन्त्री शाक्यले विश्वासको मत लिनुपरेको हो ।

एमाले विभाजनसँगै बागमती प्रदेशमा एमालेका १३ सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि शाक्य अल्पमतमा पर्नुभएको हो ।

बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने ८ दलमध्ये नेकपा एमालेका ४३, माओवादी केन्द्रका २३, नेपाली काँग्रेसका २२, एकीकृत समाजवादीका १३, विवेकशील साझा पार्टीका ३, नेमकिपाका २, राप्रपाका २ र जसपाका १ सांसद रहेका छन् ।

एमाले विभाजन भएपछि अल्पमतमा पर्नुभएका शाक्यले संसदबाट विश्वासको मत पाउने अवस्था छैन । बागमती प्रदेशमा जम्मा १०९ जना सांसद रहेका छन् । जसमध्ये सरकार बनाउनका लागि ५५ सांसद आवश्यक पर्छ । तर, एमालेसँग ४३ जना सांसदमात्रै छन् । ७ सांसद रहेका साना दलले यसअघि नै तटस्थ बस्ने घोषणा गरिसकेका छन् ।

पाँच दलीय गठबन्धनको सांसद संख्या भने ५९ रहेको छ । त्यसैले वागमती प्रदेशमा पाँच दलीय गठबन्धनकै सरकार बन्ने निश्चित छ ।

अब बन्ने गठबन्धन सरकारको नेतृत्व एकीकृत समाजवादी वागमती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेले गर्ने सहमति शीर्ष नेताहरुबीच भइसकेको छ ।