१५ चैत्र २०८०, बिहीबार

एउटै भेडाको मूल्य ४५ हजार !

bhedapalan
फाइल फोटो

जुम्लामा यसवर्षको दसैँमा भेडाको मूल्य आकाशियको छ । यहाँ एउटै भेडा ४५ हजार रुपैयाँ सम्ममा बिक्री भएको छ ।

पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख गोबिन्द महतका अनुसार यस वर्ष दसैँमा जुम्लामा भित्रिएका भेडा न्यूनतम १६ हजारदेखि अधिकतम ४५ हजार रुपैयाँ सम्मका छन् । यस वर्ष जुम्ला ल्याएका भेडा बाजुरा, जाजरकोटलगायत जिल्लाका हुन् ।

जुम्लाका भेडा व्यवपारी प्रेम कार्कीका अनुसार यसवर्ष जुम्लामा ल्याइएका भेडा बाजुराका हुन् । जुम्लामा भेडा नपाएपछि बाजुरा पुगेर ल्याएको उनले बताए । जुम्लामा मासुको माग बढ्दै जानु, तर उत्पादन नहुनुले भेडाको मूल्य आकाशिएको हो । अहिले जुम्लामा एक किलो मासुको एक हजार रुपैयाँ पर्न थालेको छ ।

कर्णाली प्रदेश सरकारले पनि जुम्लालाई मासु र दुधमा आत्मानिर्भर बनाउन विभिन्न अनुदानका कार्यक्रम दिँदै आएको छ । तर, सरकारी रकम सक्नका लागि अरुकै भेडा देखाएर अनुदान खाने प्रवृत्तिका कारण पशुवस्तु क्षेत्रको उत्पादन भने अनुसार वृद्धि नभएको नागरिक समाजका अगुवा राजबहादुर महत बताउँछन् । उनले भने, ‘अनुदान दिइन्छ त्यसपछि अनुगमन हुँदैन । सरकारले दिने अनुदानका कार्यक्रममा कडा निगरानी हुन आवश्यक छ ।’

पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख गोविन्द महतका अनुसार जुम्लामा आवश्यकताभन्दा बढी भेडा भित्रिएका छन् । ‘विगतका दसैँमा भेडा पाउन नागरिकलाई हाम्मे हाम्मे हुने गर्थ्यो । तर यस वर्ष धेरै भेडा भित्रिए ।’ उनले भने, ‘मुल्यले चाहिँ ३०–४० प्रतिशत बढेको छ।’ अहिले जुम्लामा जिउँदो खसीको मूल्य प्रतिकेजी एक हजार रुपैयाँ छ । उनले भने, ‘त्यहीँ भएर पनि मुल्य नियन्त्रण भन्दा बाहिर छ । भेडा तथा खसीको मुल्य निर्धारण गर्ने अधिकार स्थानीय तहसँग छ । स्थानीय तह मौन हुँदा मूल्य निर्धारण हुन सकेको छैन ।’

व्यवसायीलाई ढुवानी मापदण्ड पालना गरेर खसी–बोका ओसारपसार गर्न, मुल्य अनियन्त्रित नगर्न समेत निर्देशन दिने निकाय नै बेखबर भएपछि यसवर्ष भेडाको मूल्य बढेको स्थानीय भैरबहादुर कठायतले बताए । उनका अनुसार जुम्लामा भित्रिएका भेडा सामान्य नागरिकले किन्न सक्ने मुल्यका छैनन् । यसअघिका वर्षमा २० हजारमा पाइने भेडा यसवर्ष ४५ हजार तिर्नुपरेको उनको भनाइ छ ।

जुम्लामा फूलपातीको दिनमा धेरै भेडा बिक्री हुने गर्छ । यस्तै अष्टमीको दिनमा पनि भेडा बिक्री हुने गरेको छ ।