
कतारमा हुने आगामी विश्वकपका लागि जर्मनी छनौट भएको छ । आउँदो वर्ष हुने विश्वकपमा आयोजक कतार बाहेकको जर्मनी पहिलो टिम बनेको छ ।
युरोपियन क्षेत्रको छनौट अन्तर्गत सोमबार राति भएको खेलमा जर्मनीले उत्तरी मेसेडोनियालाई ४–० ले पराजित गरेको हो । समूह जे मा रहेको जर्मनी यो जितसँगै ८ खेलबाट २१ अंकसहित विश्वकपका लागि छनौट भएको हो ।
जर्मनीका लागि ५० औँ मिनेटमा काई हाभर्ट्ज, ७० र ७३ औँ मिनेटमा टिमो वेर्नर तथा ८३ औँ मिनेटमा जमाल मुसिएलाले गोल गरेका हुन् । दुई खेल बाँकी हुँदै जर्मनीले विश्वकपमा स्थान बनाएको हो ।
चारपटकको विश्वविजेता जर्मनी २० औँ पटक विश्वकपमा स्थान बनाउन सफल भएको हो ।