७ बैशाख २०८१, शुक्रबार

राजदूत नियुक्तिमा समेत प्रधानन्यायाधीश राणालाई भागबण्डा, राणाका सम्धी तीलक रावल भारतका लागि राजदूतमा नियुक्त गर्ने तयारी

cholendra shumsher
फाइल फोटो

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले राजदूत नियुक्तिमा समेत भागबण्डा खोजेको खुलासा भएको छ ।

उहाँले आफ्ना सम्धी डा तिलक रावललाई भारतका लागि नेपाली राजदूत बनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिनुभएको खुलेको हो । पूर्वगभर्नर रावल मधेसवादी दलका तर्फबाट संविधानसभा सदस्य बन्नुभएको थियो ।

संवैधानिक निकाय र सरकारमा भागबण्डा खोज्नुभएका प्रधानन्यायाधीस राणाको तर्फबाट उहाँका जेठान गजेन्द्र हमाल मन्त्रीमा नियुक्त हुनुभएको थियो । तर चर्को आलोचना भएपछि हमालले आइतवार मन्त्रीबाट राजीनामा दिइसक्नुभएको छ ।

प्रधानन्यायाधीश राणा र रावलबीच सम्धी साइनो रहेको बुझिएको छ। राणाकी छोरी रावलका छोराले बिहे गरेका हुन्। सरकारले भारतलगायतका देशबाट राजदूत फिर्ता गर्ने निर्णय गरेसँगै नयाँ राजदूत नियुक्तिको तयारी भएको छ।