८ बैशाख २०८१, शनिबार

यस्तो छ अबको मौसमको पूर्वानुमान: पश्चिमी क्षेत्रबाट बाहिरियो मनसुन, ठुलो वर्षाको सम्भावना कम

rain

नेपालको पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिएको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका सबै भूभाग तथा लुम्बिनी प्रदेशको पश्चिमी भूभागबाट मनसुन बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् गंगा नगरकोटीका अनुसार अरु भूभागबाट पनि केही दिनभित्र मनसुन बाहिरिनेछ । यो वर्षदेखि मनसुनको बहिर्गमनऔसत मिति अक्टोबर २ भनिएको छ । निर्धारित मितिभन्दा ६ दिन ढिलो मनसुन बाहिरिन शुरु गरेको हो ।

गत जुन १३ अर्थात जेठ ३० गते मनसुन नेपाल प्रवेश गरेको थियो । सामान्यतया नेपालमा पूर्वी भूभागबाट प्रवेश गर्ने मनसुन मध्य क्षेत्र हुँदै पश्चिमसम्म फैलिन्छ । झण्डै चार महिनासम्म रहने मनसुन पश्चिमबाट मध्य क्षेत्र हुँदै पूर्वबाट नै बाहिरिन्छ ।

‘शुक्रबारदेखि मनसुन बाहिरिन शुरू गरेको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशबाट पूर्णरुपमै बाहिरिएको छ । अरु प्रदेश हुँदै पूर्वी भागबाट बाहिरिएर नेपालबाटै मनसुन पूर्ण रुपमा निस्क्रिय हुन अरु हप्ता दश दिन लाग्न सक्छ,’ नगरकोटीले भनिन् ।

अरु वर्षहरुमा अक्टोबर २ मा बाहिरिन थाल्ने मनसुन यो वर्ष एक हप्तापछि मात्रै बाहिरिन थालेकाले दशैँ पनि हिलाम्मे हुन सक्ने ठानिएको छ । यद्यपि मनसुन निस्क्रिय हुँदै जान थालेपछि वर्षाको मात्र कम हुदै गएको उनले जानकारी दिइन् ।

महाशाखाकाले बिहान ६ बजे जारी गरेको पूर्वानुमान बुलेटिनअनुसार अहिले प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा भईरहेको छ ।

आज अपराह्न २-३ बजेपछि काठमाडौँ उपत्यकासहितका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको न्युन सम्भावना रहेको मौसमविद् नगरकोटीले जानकारी दिइन् । यसअतिरिक्त दिउँसो लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक(दुई स्थानहरुमा पनि मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यो वर्षको मनसुनजन्य घटनामा परेर १ सय ३६ जनाको मृत्यु भएको छ भने ४५ जना बेपत्ता हुँदा १ सय ४४ जना घाइते भएका विपत् जोखिम न्यूनिकरण तथा व्यवस्थापन केन्द्रले जनाएको छ ।

यसैबीच नेपालबाट मनसुन बाहिरिन शुरु भएसँगै तत्काल पानी पर्ने कुनै प्रणाली सक्रिय नभएकाले अबको केही दिन ठूलो पानी कतै पनि नपर्ने मौसमविद्ले बताएका छन् ।

मौसमविद् गंगा नगरकोटीका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तर, ठूलो पानी भने कतै पनि नपर्ने उहाँको भनाइ छ ।