१२ बैशाख २०८१, बुधबार

प्रधानमन्त्री देउवाले नवनियुक्त मन्त्रीहरुलाई भने – इमानदार भएर काम गर्नु

deuba cabinet safat

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा २२ जना मन्त्रिपरिषद् सदस्यहरु सम्मिलित पहिलो पूर्ण मन्त्रिपरिषद् बैठक शुक्रबार सिंहदरबारमा बसेको छ।

मन्त्रिपरिषद् बैठकमा नवनियुक्त १६ मन्त्रीहरु र यसअघि मन्त्री भएका ६ जनासहित २२ जनाले उपस्थित जनाएका थिए । शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएपछि मन्त्रीहरु मन्त्रिपरिषद् बैठकमा सहभागी भएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले जनअपेक्षाअनुसार प्रभावकारी नतिजा निकाल्ने गरी काम गर्न नवनियुक्त मन्त्रीलाई निर्देशन दिएका छन् । मन्त्रिमण्डलको विस्तारपछि आज बसेको मन्त्रिपरिषद्को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले देश, जनताको आवश्यकताअनुसार उत्साह र इमानदार भएर जनताको अपेक्षालाई सम्बोधन गर्ने गरी काम गर्न निर्देशन दिएका हुन् ।

मन्त्रिपरिषद्ले पूर्णता पाएपछि आज पहिलो पटक मन्त्रिपरिषद्को पूर्ण बैठक बसेको हो । उनले देश, जनताको चाहनाअनुसार इमान्दार भएर काम गर्न निर्देशन दिनुभएको नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

बैठकले आजैदेखि लागू हुने गरी सरकारको प्रवक्ताको समेत जिम्मेवारी मन्त्री कार्कीलाई नै दिएको छ । यसअघि पनि उनी नै सरकारको प्रवक्ता थिए । बैठकमा प्रधानमन्त्रीले नवनियुक्त मन्त्रीहरूका कार्यकालको पूर्ण सफलताको कामनासमेत गरेका थिए । बैठकले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउनेसम्बन्धी मापदण्ड २०७८ लाई स्वीकृत गरेको प्रवक्ता कार्कीले जानकारी दिए ।

यस्तै, मन्त्रिपरिषद्का समितिको पनि पुनःगठन गरिएको छ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालका सम्बन्धमा गलत प्रचार गरिएको भन्दै भ्रममा नपर्नसमेत सरकारले आग्रह गरेको छ ।