४ बैशाख २०८१, मंगलवार

प्रदेश राजधानी सुर्खेतमै अखाद्य वस्तु छ्याप्छ्याप्ती, व्यापारीहरूको उस्तै हालीमुहाली

anugaman

सुर्खेत बजारमा गुणस्तरहीन सामग्री बिक्री हुने गरेका छन् । पछिल्लो समय त्यो क्रम झन् बढेको छ । चाडपर्व नजिकिएसँगै व्यवसायीहरूको मनोमानी हुन थालेको हो । दैनिक उपभोग्य वस्तुमा मूल्य वृद्धिसँगै अखाद्य सामग्री बिक्री भइरहेका हुन् । जिल्लास्थित संयुक्त बजार अनुगमन टोलीले केही दिनयता नियमितजसो गरिरहेको अनुगमनका क्रममा बेथिति बढेको पाइएको छ ।

प्रदेश राजधानीको बजार वीरेन्द्रनगरदेखि ग्रामीण क्षेत्रसम्म अखाद्य वस्तु भेटिन थालेका हुन् । जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र कतिपय स्थानीय तहहरूले अहिले बजार अनुगमन गरिरहेका छन् ।

सुर्खेतको पूर्वी क्षेत्र सिम्ता गाउँपालिकाको जामुने, गुर्भाकोट नगरपालिकाको बोटेचौर, भेरीगंगा नगरपालिकाको छिन्चु बजार क्षेत्रमा रहेका २५ वटा पसलहरूमा अनुगमन गर्दा अधिकांशमा कैफियत भेटिएको जनाइएको छ । तीमध्ये धेरै पसलहरू दर्ता नै नगरी सञ्चालनमा ल्याइएका छन् । त्यस्ता पसलहरूले उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गरिरहेको अनुगमन टोलीले जनाएको छ । व्यापारीहरूले अखाद्य वस्तु बेच्ने र मूल्यसूचि नराख्ने जस्ता बदमासी गरेको पाइएको हो ।

जिल्लाको पश्चिम क्षेत्रका बजारहरूमा पनि व्यापारीहरूको उस्तै हालीमुहाली छ । केही दिनयताको अनुगमनका क्रममा पूर्वी र पश्चिमसँगै वीरेन्द्रनगर बजारबाट करिब आठ लाख बराबरको अखाद्य वस्तु र करछली गरेका सामान बरामद गरिएका छन् । बरामद सामग्रीमध्ये केही अनुसन्धानको क्रममा रहेको र कतिपय नष्ट गरिएको प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।

विभिन्न सरोकारवाला निकायको समन्वयमा दैनिक अनुगमन गरी बदमासी गरेको भेटिए कारबाहीको प्रक्रिया अघि बढाउने गरिएको छ । ग्राहकलाई बढी मूल्यमा सामान बेच्ने, म्याद गुज्रिएका सामग्री बिक्री गर्ने तथा कृत्रिम अभाव र कालोबजारी गर्नेलाई कारबाही हुने गरेको हो ।