१५ चैत्र २०८०, बिहीबार

मानिसहरुको भिड बढेसँगै कोरोना जोखिमको खतरा

newroad bhid

दशै नजिकिएसंगै तनहुँका बजार क्षेत्रमा भिडभाड बढेको छ ।

चाडपर्व लक्षित किनमेल लगायतका गतिविधिका कारण तनहुँका बजार क्षेत्रमा मानिसहरुको उपस्थिति बाक्लिएको हो ।

बजार क्षेत्रमा बढेको भिडभाडजन्य गतिविधिले सुस्ताएको कोरोना भाइरस संक्रमण पुनः फैलने हो कि भन्ने त्रास पनि बढाएको छ ।

कोरोना संक्रमण जोखिमकै बीच मानिसहरु दशै पर्व मनाउनका लागि आवश्यक सामाग्रि खरिद बिक्री तथा आफ्ना मान्यजनकोमा आउँजाउँ गर्नेका कारण बजार तथा यातायातका साधानमा भिडभाड बढेको छ ।

सार्वजनिक स्थलहरुमा स्वास्थ्य सुरक्षाका सावधानी नअप्नाई हिड्डुल गर्नाले जिल्लामा संक्रमणको जोखिम बढ्ने हो कि भन्ने त्रास पनि बढेको छ ।

स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जिल्लाबासीलाई खोपको दायरामा ल्याउने कोशिस भइरहेको बताए ।

जिल्लामा हालसम्म ८५ हजार ८१७ जनालाई पहिलो मात्रा र ६४ हजार ९८० जनालाई दोस्रो मात्रको खोप लगाइसकिएको छ ।

पछिल्ला दिनमा कोरोनालाई सामान्य ठान्दै बजार क्षेत्रमा भिडभाड हुन थालेसंगै व्यवसायीहरुले पनि स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै व्यापार व्यवसाय सञ्चालन गरेका छन् ।

गत वर्ष भन्दा यस वर्ष व्यवसाय राम्रो भएपनि कोरोना संक्रमण त्रास बढेको र सबैलाई सचेत भई व्यापार व्यवसाय गर्न तथा चाडपर्व मनाउन आग्रह गरेका छन् ।

चाडपर्व नजिकिएसंगै तनहुँको आँबुखैरेनी, डुम्रे, भन्सार, तुरतुरे, बन्दिपुर, दमौली, थर्पु, खैरेनीटार, दुलेगौडा, कोत्रे, भिमाद लगायतका बजार क्षेत्रमा यतिबेला मानिसहरुको चहलपहल बढेको छ ।

विशेष गरी दसै पर्वलाई लक्षित गरी नयाँ कपडा खरिदका लागि फेन्सी पसलमा मानिसहरुको बढि भिड देखिन थालेको छ । यीसंगै खाद्यान्य, बैंक तथा वित्तिया संघसंस्थामा पनि मानिसहरुको भिडभाड लाग्ने गरेको छ ।

कोरोना संक्रमण रोकथामका लागि गरिएको बन्दाबन्दि र निषेधाज्ञाका कारण थला परेको व्यापार व्यवसाय चाडपर्व नजिकिएसंगै लयमा फर्कने प्रयासमा छन् ।

त्यस्तै, जिल्ला प्रहरी कार्यालय तनहुँले चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना बनाएको छ । तनहुँ प्रहरीले ढुक्क भएर चाडपर्व मनाउन जिल्लाबासीलाई आग्रह गरेको छ ।

तनहुँ प्रहरीले धनजनको सुरक्षाको लागि जिल्लाभरी ५८४ प्रहरी खटाइएको र हरेक दिन एक प्रहरी इकाईबाट एउटा गाउँ अनिवार्य गस्ती गर्ने व्यवस्था मिलाइएको छ ।

प्रहरीले गस्तीलाई निरन्तरता दिंदा हुन सक्ने अपराधिक क्रियाकलापका घट्नाहरुमा न्युनिकरण आउने विश्वास गरिएको छ ।